विश्वकपमा अचम्मको घटना: बल नै नछोई गोल गरेको भन्दै रमाए रोनाल्डो

काठमाडौं: गए राति सम्पन्न पोर्चुगल र उरुग्वेबीचको खेल पोर्चुगलले २-० गोलअन्तरले जित्यो। जितसँगै पोर्चुगल जारी विश्वकपमा अन्तिम १६ मा पुग्ने तेस्रो टोली बन्यो।
यस खेलमा एउटा रोचक घटना भयो। पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले ब्रुनो फर्नान्डेजले गरेको गोललाई आफ्नो गोल भन्दै रमाए। केही मिनेटसम्म रोनाल्डो त अत्यधिक खुशी पनि भए। नहोऊन् पनि किन, उक्त गोलसँगै रोनाल्डोले युसेबियोको कीर्तिमान बराबरी गरेका थिए। युसेबियो पोर्चुगलका महान् खेलाडी मानिन्छन्। उनले विश्वकपमा कुल नौ गोल गरेका छन्।
तर रोनाल्डोको खुशी र कीर्तिमान बराबरी केही मिनेटमै 'फेक' साबित भयो। किनकि गोल रोनाल्डोले होइन, ब्रुनोले गरेका थिए भन्ने रिप्लेबाट थाहा भयो। ब्रुनोले गरेको प्रहारलाई रोनाल्डोले 'हेडर' मार्फत गोलपोस्टको दिशा दिन खोजेका थिए। यद्यपि रोनाल्डोले छुनै नपाई बल गोलपोस्टतिर छिरेको रहेछ। तर, रोनाल्डो जसरी आफैँले प्रहार गरेको भावमा रमाए, त्यस्तोमा नझुक्किने को होला र!
त्यसपछि युसेबियोको गोलको कीर्तिमान पनि भङ्ग हुन पाएन। रोनाल्डो अझै पनि विश्वकपमा आठ गोलसहित उनलाई पछ्याइरहेका छन्।
यता पोस्ट म्याच कन्फरेन्समा ब्रुनोले आफ्नो टिम अन्तिम १६ मा पुगेकाले जसले गोल गरे पनि मतलब नहुने बताए। 'मलाई लाग्दैन कसले बल छोयो भन्ने कुराले महत्त्व राख्छ भनेर। त्यसबेला मलाई क्रिष्टियानोले बल छोए भन्ने लागेको थियो।'
रोनाल्डोले किन खुशी मनाउन हतार गरे भन्ने पनि कारण छ। उनले विश्वकप सुरु हुनुअघि नै युसेबियोको कीर्तिमान भङ्ग गर्ने इच्छा रहेको बताएका थिए।
मंसिर १३, २०७९ मंगलबार ११:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।