सर्लाही: १५ जना महिलाले उम्मेदवारी दिएकोमा एक जना मात्र निर्वाचित

सर्लाही: १५ जना महिलाले उम्मेदवारी दिएकोमा एक जना मात्र निर्वाचित

काठमाडौं: प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सर्लाहीमा महिलाको सहभागिता न्यून देखिएको छ। चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्यमा २०२ जनाको उम्मेदवारी रहेकामा १५ महिला थिए।

प्रदेश सभाअन्तर्गत जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को (ख)मा पाँच , क्षेत्र नं २ को (क)मा एक, (ख)मा दुई, क्षेत्र नं ३ को (क)मा एक र (ख) मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए।

महिला उम्मेदवारमध्ये सर्लाही- १ को प्रदेश सभा–(ख) बाट मात्र वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुङ्गेली निर्वाचित भइन्। उनले एमालेकी उम्मेदवार शान्तिकुमारी लामालाई ६ हजार ६९९ मतान्तरले पराजित गरेकी हुन्।

कुल ३८ हजार २७२ मत खसेकोमा लुङ्गेलीले १३ हजार ६७७ मत प्राप्त गर्दा लामाले ६ हजार ९७८ मत प्राप्त गरकी थिइन्।

“निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ। महिला सहभागिता न्यून देखिने अवस्था छ”, महिला अधिकारकर्मी अम्बिका राउतले भनिन्।

मंसिर १३, २०७९ मंगलबार १०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।