महोत्तरीबाट निर्वाचित चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्यमध्ये नौ जना 'पुरानै अनुहार'

काठमाडौं: प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि हालै सम्पन्न भएको महोत्तरी जिल्लाको मतगणनाअनुसार अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको अन्तिम परिणामले चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्यमा नौ जना यसअघि निर्वाचित नै रहेको देखिएको छ।
महोत्तरी–३ प्रतिनिधि सभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी–२ बाट लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी निर्वाचित भए। उनीहरू दुवै यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
त्यसैगरी जिल्लाका आठ प्रदेश सभा क्षेत्रमध्ये सात वटामा यसअघिकै प्रदेश सभा सदस्य दोहोरिए। यसमा महोत्तरी–१(क) र (ख) बाट क्रमशः एमाले नेतृ शारदा थापा र माओवादी केन्द्रका भरतप्रसाद साह छन्।
महोत्तरी–२ (क) र (ख) बाट जयनुल राइन र सुरिता साह निर्वाचित भए। उनीहरू दुईमध्ये राइन लोसपाबाट र साह यसपालि लोसपाबाट अवसर नपाएपछि स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेर विजयी बनेका हुन्।
जिल्लाको महोत्तरी–३(क) र (ख) बाट पनि प्रदेश सभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी बने। उनीहरू दुवै सोही क्षेत्रबाट यसअघि प्रदेश सभा सदस्य थिए। यसरी नै महोत्तरी–४ (ख) का निर्वाचित प्रदेश सभा सदस्य सरोजसिंह कुशवाहा पनि यसअघि सोही क्षेत्रबाट निर्वाचित थिए।
महोत्तरी–१ बाट भने प्रतिनिधि सभामा एमाले नेता लक्ष्मी महतो कोइरी निर्वाचित भए। महोत्तरी–४ बाट कांग्रेस नेता महेन्द्रकुमार राय निर्वाचित भए।
प्रदेशसभातर्फ महोत्तरी–४ (क) बाट निर्वाचित एमाले केन्द्रीय सदस्य सरोजकुमार यादव भने प्रदेश सभामा नयाँ अनुहार हुन्। विसं २०७४ मा महोत्तरी–४ (ख) प्रदेश सभा क्षेत्रमा पराजित भएका यादव यसपालि क्षेत्र परिवर्तन गरेर महोत्तरी–४(क) बाट निर्वाचित भएका हुन्।
महोत्तरी–१ र महोत्तरी–४ बाट क्रमशः गिरिराजमणि पोखरेल र डा सुरेन्द्रकुमार यादव र प्रदेश सभातर्फ महोत्तरी–४(क) बाट कौशलकुमार रायले निर्वाचनमा पराजय व्यहोरे।
मंसिर १३, २०७९ मंगलबार ०८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।