रुपन्देही- १ को समानुपातिकतर्फको मतगणनामा धाँधली भएको एमालेको आरोप, पुनः गणना गर्न माग

रुपन्देही- १ को समानुपातिकतर्फको मतगणनामा धाँधली भएको एमालेको आरोप, पुनः गणना गर्न माग

बुटवल: रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको मतगणनामा धाँधली भएको भन्दै नेकपा एमालेले पुनः गणना गर्न माग गरेको छ। सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले मतगणनामा नियोजितरूपमा धाँधली भएको प्रमाणहरू रहेको दावी गर्दै पुनः मतगणनाको माग गरिएको बताए।

यस्तो छ एमालेको धारणा:
ओमसतिया वडा नं. ६ (ख), केरवानी (क), तिलोत्तमा वडा नं. ९ गौतमबुद्ध शिशु सदन आ.वि. (क), देवदह वडा नं. ६, युगज्योति (ख), तिलोत्तमा वडा नं. ८ ज्योति मावि (घ), ओमसतिया वडा नं. १ ठुटीपिपल मावि (ख), देवदह वडा नं. ३ केरवानी मावि (ख), देवदह वडा नं. १० सिता मावि (क), देवदह वडा नं. १२ सिक्टहन (ख) समेतका जम्मा ९ वटा बाकसको मतपेटिका जाँच गरेको मुचुल्कामा मतदाता संख्या जम्मा पाँच हजार ७४६ उल्लेख भएकोमा मतगणना फारममा ५७३ मत सङ्ख्या थपी ६ हजार ३१९ उल्लेख गरेको देखिएको छ।

साथै विवरण उल्लेख गर्दा केरमेट गरिएको, एक/एक सयको मुठ्ठा गणना गर्ने प्रक्रियाविपरीत एकै पटक १९१ चढाइएको, आधिकारिक गणकको अंक, अक्षर र मसी फरक रहेको, मतगणना फारमका सम्पूर्ण विवरण नभरिएको, दलहरूले पाएको वास्तविक मत सङ्ख्यालाई केरमेट गरी थप गरी सच्चाइएको पाइएको छ।

मतगणनाका क्रममा गरिएका यस्ता गम्भीर लापरवाहीको विषयमा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरूसँग कुरा राख्दा आधिकारिक कर्मचारीले नै असामन्य व्यवहार प्रदर्शन गरेको, मुचुल्का फारम रुजु गरी सही गर्छु भन्दा रुजु गर्न दिन इन्कार गरिएकाले नियोजित रूपमा मतपरिणम फरक पार्ने काम भएको स्वतः पुष्टि हुने देखिन्छ।

माथि उल्लेख गरिएको दृष्टान्तबाट निर्वाचन क्षेत्रभित्रका अन्य मतदान केन्द्रको मतगणनामा पनि यस्तै प्रकृतिको गम्भीर र नियोजित लापरवाही हुनसक्ने हामीहरूको आशंका छ। यसर्थ प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना कार्य निर्वाचन सम्बन्धी ऐन, नियम, निर्देशिका विपरीत गरेकाले त्यसलाई सच्चाई सम्पूर्ण रूपमा पुनः मतगणना गर्न हाम्रो पार्टी नेकपा एमाले माग गर्दछ।

हामीले मतगणनाको सन्दर्भमा देखिएको यस प्रकारको नियोजित र चरम लापरवाहीको विषयमा पार्टीको तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा मिति २०७९ मंसिर ११ गते लिखित रूपमा प्रमाणसहित निवेदन पेश गरेको समेत जानकारी गराउन चाहान्छौँ। जनताले दिएको अभिमतको सही ढंगले गणना हुनुपर्छ भन्ने हामीहरूको स्पष्ट मान्यता छ।

कुनै पनि बाहानमा जनताको अभिमतलाई अन्यथा गराउने अधिकार कसैलाई छैन। मतगणना नियमसङ्गत हुनुपर्छ भन्नेप्रति हाम्रो पार्टी दृढ छ।

पत्रकार सम्मेलनमा एमाले सचिव एवं सो क्षेत्रबाट निर्वाचित सांसद छविलाल विश्वकर्माले मतगणनामा धाँधली भएको प्रमाण भेटिएकाले पुनः गणना हुनुपर्ने माग गरे। उनले रुपन्देहीमा मात्र नभई अन्यत्र पनि समानुपातिक मत गणनामा धाँधली भएको बताए।

निर्वाचन अधिकृतको कार्यालयका प्रमुख श्याम श्रेष्ठले पुनः मतगणनाको निवेदनअनुसार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्र लेखेर पठाउन लागेको र केन्द्रबाट आउने निर्देशनअनुसार आफूहरू अघि बढ्ने बताए।

मंसिर १२, २०७९ सोमबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।