सरकारको नेतृत्त्व गर्न एमालेले पहलकदमी लिने विष्णु पौडेलको दावी

सरकारको नेतृत्त्व गर्न एमालेले पहलकदमी लिने विष्णु पौडेलको दावी

बुटवल: एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजना सोमबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोडेलले बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्त्वका लागि पहल गर्ने बताए।

कुनै दलको प्रतिकूल प्रभाव, अस्थिरताको चक्रव्यूहमा फस्नबाट जोगाउन कुनै न कुनै दलको बहुमत आउनुपर्ने र एमालेले सरकारको नेतृत्त्व नगर्दासम्म देशले सही निकास नपाउने पौडेलले बताए। रुपन्देही- २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पौडेलले एमालेले मात्रै देशलाई सही ढङ्गले अघि बढाउन सक्ने दावी गरे।

'बहुमत आएन। एमालेले लिड रोल नगर्दासम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन। सकेसम्म नेतृत्व प्रदान गर्ने गरी पहलकदमी लिन्छ। एमाले प्यासिभ भएर बस्दैन सशक्त भूमिका खेल्छ', उनले भने।

यस्तै राजनीतिक स्थायित्व, विकास र समृद्धिका अजेण्डा लिएर एमाले चुनावमा गए पनि एमालेले बहुमत नपाएको यद्यपि आफूहरूले जनादेशको सम्मान गर्ने उनले बताए। साथै, यसपटकको चुनावमा एमालेलाई किनारामा पार्ने धेरे कोसिस भएको समेत उनले बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि बढाउने उल्लेख गर्दै उनले मुलुकलाई स्थिर राजनीति प्रदान गर्नका लागि एमालेको भूमिका रहने बताए।

मंसिर १२, २०७९ सोमबार ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।