समानुपातिकमा स्वतन्त्र पार्टीले फेरि उछिन्यो माओवादीलाई, एकीकृत समाजवादी जनमत पार्टीभन्दा पछाडि

समानुपातिकमा स्वतन्त्र पार्टीले फेरि उछिन्यो माओवादीलाई, एकीकृत समाजवादी जनमत पार्टीभन्दा पछाडि

काठमाडौं: प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना हाल जारी छ। जारी गणनामा एमालेले सुरुदेखि नै अग्रता बनाइरहेको छ।

कुल खसेको ९२ लाख ५७ हजार ८५० मतमध्ये एमालेले हालसम्म २५ लाख २५ हजार ९९ मत पाएको छ। यस्तै दोस्रो स्थानमा कांग्रेस छ। कांग्रेसले हालसम्म २३ लाख ९२ हजार २४२ मत पाएको छ।

तेस्रो स्थानमा भने माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच अघि-पछि, अघि-पछि भइरहेको छ। हाल चाहिँ स्वतन्त्र पार्टी तेस्रो स्थानमा आइपुगेको छ। १० लाख ६१ हजार ७५८ मतसहित स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ।

चौथो स्थानमा माओवादी केन्द्र छ। उसले १० लाख ५६ हजार २७० मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा छ। पाँच लाख ४४ हजार ६३९ मत राप्रपाले पाएको छ।

छैटौँ स्थानमा जनता समाजवादी पार्टी (जसपा), नेपाल छ। जसपाले तीन लाख १९ हजार ४६८ मत पाएको छ। सिके राउत नेतृत्त्वको जनमत पार्टीले दुई लाख ५६ हजार ४६ मत पाएर सातौँ स्थानमा छ।

यस्तै आठौँ स्थानमा एकीकृत समाजवादी छ। सत्ता गठबन्धनको सहयात्री दल तथा एमालेबाट छुट्टिएको माधवकुमार नेपाल नेतृत्त्वको यस पार्टीले दुई लाख ४९ हजार २९२ मत पाएको छ।

नागरिक उन्मुक्ति पार्टीले पनि दुई लाख मत कटाइसकेको छ। ढकिया चुनाव चिह्नमा कुल दुई लाख ३७ हजार ९४२ मत पाएको छ।

यस्तै साइकल चुनाव चिह्न भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख २६ हजार ४१ मत ल्याएको छ। यसबाहेक अरू दलले एक लाख मत कटाएका छैनन्।

मंसिर १२, २०७९ सोमबार ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।