३१ वर्षपछि कालीकोटमा उदायो कांग्रेस

काठमाडौं: पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए। यसअघिका ६ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो।
विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको थिएन। तर रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर विष्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जित दिलाउन सफल भएका हुन्।
तत्कालीन समयमा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार विष्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएको थिए। न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार ७१७ मत ल्याएको थियो।
यही मङ्सिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा विष्टले कालीकोट प्रदेश सभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार ८३८ मत प्राप्त गरे।
विसं २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस उम्मेदवार तिलकप्रसाद न्यौपाने एमालेका यज्ञराज न्यौपाने पराजित गरेका थिए भने २०५६ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए। साथै, २०६४ सालको संविधान सभा निर्वाचनमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गरेका थिए।
विसं २०७० को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गरेका थिए। तर २०७९ सालको प्रदेश सभामा भने कांग्रेसले कालीकोटमा एक सिट सुरक्षित गर्न सफल भएको छ।
“प्रदेश सभा सदस्यमा कांग्रेसले जित निकाल्न सफल भएको छ”, कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भने, “३१ वर्षपछि कालीकोटमा कांग्रेसको जितले निकै खुशी बनाएको छ।” वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जित निकालेको कांग्रेस महासमिति सदस्य नारायणप्रसाद भट्टराईले बताए।
मंसिर ११, २०७९ आइतबार १०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।