कालीकोटमा समानुपातिकतर्फ माओवादी केन्द्र पहिलो, एमाले दोस्रो

काठमाडौं: कालीकोटमा माओवादी केन्द्र प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ। शनिबार राति सकिएको समानुपातिक मतको गणनाअनुसार माओवादी अगाडि देखिएको हो।
जिल्लामा एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन्। जिल्लामा निर्वाचनको मतगणना सकिएको र नतिजा सार्वजनिक भइसकेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।
मुख्य निर्वाचन कार्यालयका अनुसार माओवादीले प्रतिनिधि सभामा समानुपातिकतर्फ १४ हजार दुई सय २९ र प्रदेश सभातर्फ १५ हजार दुई सय ५१ मत पाएको छ।
एमालेले प्रतिनिधि सभातर्फ १२ हजार पाँच सय ६४ र प्रदेश सभातर्फ १२ हजार तीन सय ३९ मत पाएको छ।
कांग्रेसले प्रतिनिधि सभामा १० हजार पाँच सय ८५ र प्रदेश सभातर्फ नौ हजार २० मत समानुपातिकमा पाएको छ।
त्यसैगरी एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फ दुई हजार ५६, प्रदेश सभामा दुई हजार एक सय २१, नेपाल मजदुर किसान पार्टीले प्रतिनिधि सभामा एक हजार दुई सय ४०, प्रदेश सभामा एक हजार पाँच सय सात मत पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभामा एक हजार दुई सय ७३, प्रदेश सभामा एक हजार आठ सय ८२ मत पाएको छ।
जिल्लामा प्रतिनिधि सभामा उम्मेदवार नउठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ६ सय एक मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ।
जिल्लामा ४६ हजार ६ सय ६९ मत खसेको मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिए।
मंसिर ११, २०७९ आइतबार ०८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।