रुपन्देहीमा एमाले नेतृत्त्वको गठबन्धनको क्लिन स्वीप

रुपन्देहीमा एमाले नेतृत्त्वको गठबन्धनको क्लिन स्वीप

बुटवल : प्रतिनिधिसभातर्फ ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा एमाले नेतृत्वको गठबन्धनले क्लिन स्वीप गरेको छ।

रुपन्देहीको अन्तिम निर्वाचन परिणाम अनुसार तीनवटा निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् भने लोसपा र राप्रपाका एकएक जना निर्वाचित भएका छन्।

यसअघि २०७४ सालमा नेपाली कांग्रेसले एक्लै तिनवटा क्षेत्रमा विजयी हासिल गरेपनि यसपटक भने सत्तारुढ गठबन्धनमा रहेका दलहरुको समर्थन रहे पनि एउटा क्षेत्रमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुन सकेनन्।

गृहमन्त्री बालकृष्ण खाण आफैँ क्षेत्र नं. ३ बाट राप्रपाका दिपक बोहरासँग पराजित भएका छन्। अन्तिम मत परिणाम अनुसार बोहराले ३६६४८ मत प्राप्त गर्दा खाणले ३४००६ मत प्राप्त गरेका छन्। बोहरा र खाणको मत अन्तर २६४२ रहेको छ।

त्यस्तै, क्षेत्र नं. २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका छन्। क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा (सुर्यवंशी) लाई समर्थन गरेको थियो।

यद्यपि एमाले उपाध्यक्ष पौडेलको प्रतिष्पर्धा भने थापासँग भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग पर्न गयो।

त्यस्तै क्षेत्र नं. १ मा एमाले परित्याग गरि स्वतन्त्रबाट उम्मेदवारी दिएका बामपन्थी नेता घनश्याम भुसाललाई पराजित गर्दै एमाले सचिव छविलाल विश्वकर्मा निर्वाचित भए। सत्ता गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको क्षेत्र नं. १ मा गठबन्धनले भुसाललाई समर्थन गरेको थियो।

त्यस्तै क्षेत्र नं. ५ मा पनि नेपाली कांग्रेसका भरत कुमार शाहलाई पराजित गर्दै एमालेका बासुदेव घिमिरे निर्वाचित भए।

त्यस्तै क्षेत्र नं. ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले नेपाली कांग्रेसका प्रमोद यादवलाई पराजित गरे। शुक्लालाई एमालेले समर्थन गरेको थियो भने यादव सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।

मंसिर १०, २०७९ शनिबार १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।