कालीकोटमा सत्ता गठबन्धनको 'क्लिन स्वीप'

कालीकोटमा सत्ता गठबन्धनको 'क्लिन स्वीप'

काठमाडौं: कालीकोटमा एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र र दुई प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कालीकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीबीच गठबन्धन भएको थियो।

गठबन्धनतर्फबाट प्रतिनिधि सभा सदस्यमा माओवादीका महेन्द्रबहादुर शाही तथा प्रदेश सभा (क) मा माओवादीकै दुर्गबहादुर रावत र प्रदेश सभा (ख) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन्।

माओवादी केन्द्रका शाही एमालेका नगेन्द्र शाहीभन्दा ६ हजार मत बढी ल्याएर विजयी भएका हुन्। कालीकोटमा खसेको कुल ४६ हजार ६६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार शाहीले २३ हजार ७२७ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी एमालेका शाहीले १६ हजार ७१८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।

कालीकोट प्रदेश सभा (क) मा माओवादी केन्द्रका उम्मेदवार दुर्गबहादुर रावत निर्वाचित भए। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरे।

रावत नौ हजार ११ मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शाहीले सात हजार ९५२ मत प्राप्त गरे।

कालीकोट प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भए। उनी १३ हजार ७८३ मत ल्याएर विजयी भएका हुन्।उनका निटकम् प्रतिद्वन्द्वी एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार ८३९ मत पाएका थिए।

मंसिर १०, २०७९ शनिबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।