रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार, शपथ ग्रहणलगत्तै सम्पर्क नम्बर सार्वजनिक गर्ने बाचा

काठमाडौं: चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले चुनावी खर्च सार्वजनिक गर्दै केही प्रतिबद्धता पनि गरेका छन्।
लामिछानेका अनुसार उनको चुनावी खर्च ११ लाख ८१ हजार ४७२ रुपैयाँ रहेको छ। यस्तै उनले औपचारिक शपथ ग्रहणको दिन वा त्यसअगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस्तै रविले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको पनि उल्लेख गरेका छन्। उनी कार्यक्रमहरूको उद्घाटन, आसनग्रहण भाषणहरूमा सहभागी नहुने पनि प्रष्ट पारेका छन्। उनले आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने बताएका छन्।
यस्तै सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिने र पार्टीका नीतिहरूबारे बोल्ने जिम्मा पार्टीका प्रवक्ता तथा सूचना अधिकारीहरूलाई दिइएको पनि बताएका छन्।
उनले प्रत्येक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने आफैँ उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कुनै पनि रेस्टुराँ, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा नलिने र अरू ग्राहकलाई झैँ समान मूल्य तिराउन पनि आग्रह गरेका छन्।
यसका साथै लामिछानेले शपथ ग्रहणलगत्तै आफनो सम्पर्क नम्बर सबैका लागि सार्वजनिक गर्ने बाचा पनि गरेका छन्। त्यतिञ्जेल आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन- ११ स्थित घरमा राखिएको "भन्नुहोस् के सेवा गरौँ" लेखिएको बाकसमा खसाउनु पनि उनले अनुरोध गरेका छन्।
उनले आफ्नो कार्यकालमा राजनीतिक छ्लफलहरूभन्दा सुशासन, समृद्धिका अर्थपूर्ण छ्लफलहरूमा रुचि रहने बताएका छन्।
मंसिर १०, २०७९ शनिबार १२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।