चितवन: दुई क्षेत्रमा 'घण्टी' एक क्षेत्रमा 'हलो'

काठमाडौं: चितवन जिल्लाका तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ। क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएसँगै सबै प्रतिनिधि सभा क्षेत्रको मतगणना टुङ्गिएको हो।
शुक्रबार राति सम्पन्न ३ नम्बरको मतगणनामा पाण्डे नौ हजार २३३ मतान्तरका साथ विजयी भएका हुन्। पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत प्राप्त गरिन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा ९४ हजार २८० मत खसेको थियो।
यस्तै चितवन क्षेत्र नम्बर ३ प्रदेश (ख) मा नेकपा माओवादीका ठाकुर ढकाल विजयी भएका छन्। उनी १५ हजार ४६१ मतका साथ विजयी भएका हुन्। उनका प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार ६१५ मत प्राप्त गरिन्।
एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेशअन्तर्गतको यस क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो।
यस्तै चितवनको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भए भने क्षेत्र नम्बर २ मा सोही पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भए।
मंसिर १०, २०७९ शनिबार १०:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।