गञ्जागोल जनमत : माओवादीविना एमाले नेतृत्त्व सरकार असम्भव, कांग्रेस गठबन्धनलाई साना दल चाहिने

गञ्जागोल जनमत : माओवादीविना एमाले नेतृत्त्व सरकार असम्भव, कांग्रेस गठबन्धनलाई साना दल चाहिने

काठमाडौं : प्रतिनिधि सभातर्फको एक सय ६५ मध्ये एक सय २९ सिटको परिणाम आउँदा निर्वाचनमा सहभागी गठबन्धन नभत्काई कांग्रेस अनि एमाले दुवैलाई सरकार बनाउन कठिन देखिन्छ।

३६ सिटको परिणाम आउन बाँकी भए पनि लगभग सरकारको नेतृत्त्वको दावी गर्दै आएको कांग्रेस अनि एमालेको संसदीय आकार भने खुलिसकेको छ।

शुक्रबार दिउँसोसम्म घोषणा भएको परिणाम र जारी रहेको मतगणनामा अग्रतामा रहेको सिट संख्यासँगै सम्भावित समानुपातिक सिट आँकलन गर्दा गठबन्धन नभत्किई न कांग्रेसको नेतृत्त्वमा सरकार बन्ने देखिन्छ न एमालेकै।

कांग्रेस नेतृत्त्वको गठबन्धनमा रहेका पाँच दलका उम्मेदवारहरूले जितेको र अगाडि रहेको सबै सिट जोड्दा पनि बहुमतका लागि आवश्यक एक सय ३८ पुग्न सम्भव देखिएको छैन। उता एमालेले तालमेल गरेका दलहरूको सिट जोड्दा पनि सरकार बनाउने उसलाई सिट संख्या पुग्दैन।

कांग्रेस-एमाले तालमेल भए त सहजै सरकार बनिहाल्यो। तत्काल त्यो सम्भावना देखिएको छैन। नत्र कांग्रेसले एमालेसँग तालमेल गरेको राप्रपा वा कसैसँग तालमेल नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा मात्रै सरकार बनाउन सक्ने देखिन्छ।

कांग्रेससँग राप्रपाको विकल्पमा सानादलहरूको टिपनटापन सांसद जोडेर कमजोर सरकार बनाउनुको अर्को विकल्प देखिएको छैन।

एमालेको सम्भावित ७७, राप्रपाको १६ अनि जसपाको १० सिट गर्दा उसको गठबन्धनको पक्षमा एक सय तीन सिट मात्रै देखिन्छ।

उता एमालेका लागि माओवादीविना सरकार बनाउन उस्तै सकस देखिन्छ। माओवादीको समर्थन नभए उसलाई एकीकृत समाजवादीको समर्थन आवश्यक पर्छ। त्यसमा राप्रपा अनि रास्वपाको समर्थनसँगै केही साना दल मिलाएर एमालेले आफ्नो नेतृत्त्वमा सरकार बनाउन सक्छ। तर, त्यो पनि कतिखेर ढल्ने हो भर नहुने सरकार बन्ने पक्का छ।

प्रत्यक्ष अनि समानुपातिकतर्फको अन्तिम परिणामको आँकलन गरेरै हुनसक्छ एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबारबाटै सरकार गठनबारे निर्णायक २ दल नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्त्वलाई फोन गरेर छलफलको थालनी गरे। तर, त्यसको आकार आइसकेको छैन।

पाँच दलीय गठबन्धनलाई गञ्जागोल जनमत
निर्वाचनमा कांग्रेसको गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी अनि राष्ट्रिय जनमोर्चा संलग्न छन्।

शुक्रबार दिउँसोसम्म सरकारको नेतृत्त्वको दावी गरिरहेको कांग्रेसले ४४ सिट जितिसकेको छ भने १० सिटमा अग्रता लिएको छ। अग्रता लिएको सबै सिट जित्यो भने कांग्रेसको प्रत्यक्षतर्फ ५४ सिट आउने देखिन्छ।

कांग्रेस समानुपातिकमा दोस्रो दल हुँदै ११ लाख ३८ हजार मत ल्याएको छ। यदि यसमा सुधार नभए उसले समानुपातिकमा पाउने बढिमा ३० सिट देखिन्छ। दुवै जोड्दा कांग्रेसको बढिमा ८४ सिट देखिन्छ।

गठबन्धनको अर्को दल माओवादीले १२ सिट जितेको छ भने ६ सिटमा अग्रता लिइरहेको छ। अग्रता लिएकोसहित सबै जित्दा पनि उसको आउने १८ सिट हो।

समानुपातिकमा चौथौ दलका रूपमा पाँच लाख १८ हजार मत पाएको छ। यही ट्रेण्ड कायम रहे उसले समानुपातिकमा बढिमा १५ सिट पाउने देखिन्छ। दुवै निर्वाचन प्रणालीको जोड्दा माओवादीको कुल सिट संख्या ३३ पुग्छ।

एकीकृत समाजवादीले जम्मा १० सिट जितेको छ। समानुपातिकमा सिट पाउन संघर्षमै छ। समाजवादीले जम्मा ९० हजार मत पाएको छ।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले एक सिट जित्यो। समानुपातिकको मत पुर्या उन कठिन देखिन्छ। समानुपातिक सिटका लागि आवश्यक मतसंख्या पुर्याउन घिस्रिरहेको लोसपाले तीन सिट जितेको छ।

सरकार गठन गर्न एक सय ३८ सांसदको समर्थन चाहिन्छ नै। कांग्रेस-माओवादी गठबन्धनमा रहेका दलमध्ये कांग्रेसले पाउनसक्ने ८४,  माओवादीको ३३, एकीकृत समाजवादीको १० अनि लोसपा र जनमोर्चाको ४ गरेर एक सय ३१ सांसद पुग्ने देखिन्छ।

कांग्रेस या एमाले कसको नेतृत्त्वमा सरकार बनाउने भन्नेमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय निर्णायक देखिन्छ।

अब दुवै गठबन्धनमा नदेखिएका नागरिक उत्थान पार्टीका तीन सांसदले जितेका छन्। अनि जनमत पार्टीको सिके राउतले जितेका छन्।

यी दुवैले कांग्रेस गठबन्धनलाई साथ दिए एक सय ३५ सिट पुग्छ। तीन क्षेत्रको मतगणना नै हुन सकेको छैन। ती तीनै क्षेत्रको नतिजा गठबन्धनको पक्षमा आए सरकार बनाउन चाहिने एक सय ३८ सिट त पुग्छ। तर, निकै कमजोर सरकार बन्छ।

अर्को सम्भावना भनेको समानुपातिकमा गठबन्धनमा रहेका दलहरूको मत बढेर सिट बढ्ने हो। कांग्रेस र माओवादीको समानुपातिकमा मत बढ्नसक्ने सम्भावना देखिन्छ।

कांग्रेसले समानुपातिकमा ३३ हाराहारी र माओवादीको बढेर १६ जति पुग्दा गन्न बाँकी ३ सिट गठबन्धनले जितेको हकमा गठबन्धन बाहिरका दलको समर्थन नलिई सरकार बन्नसक्छ।

एमालेको अवस्था पनि उस्तै
एमालेले निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपा नेपालसँग तालमेल गरेको थियो। यसमा राप्रपा नेपाल प्रतिनिधि सभामा पुग्ने अंक गणितबाटै बाहिरिइसक्यो। बाँकी रह्यो तीन दल।

तीन दलमध्ये एमालेले शुक्रबार दिउँसोसम्म जितेको ४३ र अग्रतामा रहेको ११ जोड्दा प्रत्यक्षमा ४५ आउनसक्ने देखिन्छ।

समानुपातिकमा ११ लाख ९९ हजार मतसहित पहिलो नम्बरमा रहेकाले एमालेले अधिकतम ३२ सिटसम्म पाउनसक्ने देखिन्छ। प्रत्यक्षको जित र सबै अग्रतासँगै सम्भावित समानुपातिक जोड्दा एमालेले कुल ७७ सिट आउने देखिन्छ।

गठबन्धमा रहेको राप्रपाका उम्मेदवारले पाँच सिट जितिसकेका छन्। अग्रता लिइरहेको २ सिटमा चितवन ३ बाट विक्रम पाण्डे पक्कापक्की भइसकेका छन्।

रुपन्देहीमा दीपक बोहराको गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणसँग कडा टक्कर चलिरहेको छ।

अग्रता लिएको दुवै सिट जित्दा पनि प्रत्यक्षमा सात हुन्छ। समानुपातिकतर्फ ३ लाख १८ हजार ल्याइसकेकाले यो पार्टी राष्ट्रीय दल हुने पक्कापक्की देखियो। शुक्रबारको मतको ट्रेण्ड कायम रहे उसले समानुपातिकमा नौ सिट पाएर जम्मा १६ सांसद पुर्यायउन सक्छ।

अर्को जनता समाजवादी पार्टीले तीन सांसद जितिसकेको छ भने तीन वटामा अगाडि छ। एक स्थानमा कडा प्रतिष्पर्धा देखिन्छ। उ अग्रतामा रहेको सिट सबै जित्दा ६ सिट हुन्छ। समानुपातिकतर्फ एक लाख ४५ हजार ल्याएकाले समानुपातिक सिट पाउने देखिन्छ। यही ट्रेण्डमा समानुपातिक मत पाए उसले बढिमा ४ सिटसम्म पाउनसक्छ। दुवै जोड्दा १० सिट भयो।

एमालेको सम्भावित ७७, राप्रपाको १६ अनि जसपाको १० सिट गर्दा उसको गठबन्धनको पक्षमा एक सय तीन सिट मात्रै देखिन्छ।

सहज सरकारका लागि निर्णायक तीन दल
कांग्रेस या एमाले कसको नेतृत्त्वमा सरकार बनाउने भन्नेमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय निर्णायक देखिन्छ। यी तीनै दल एकातिर भए भने त जसले समर्थन पायो उसले नै सरकार बनाइहाल्छ। यदि अलग-अलग भएको अवस्थामा पनि यीनीहरूको मत निर्णायक हुने देखिन्छ।

तर, एमालेले आफ्नो नेतृत्त्वमा सरकार बनाउन कांग्रेसको नेतृत्त्वमा बनेको पाँच दलीय गठबन्धन नभत्काइ सम्भव छैन। गठबन्धनमा रहेको माओवादी केन्द्र एमालेसँग आएमा उसले नागरिक उत्थान पार्टीकै समर्थनमा सरकार बनाउन सक्छ।

एमाले गठबन्धनको एक सय ३ सिटमा माओवादीको जोड्दा एक सय ३६ पुग्छ। त्यसमा नागरिक उत्थानको तीन जोडिए सरकार बनाउन चाहिने एक सय ३८ कट्छ। 

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र पनि कुनै दलले बहुमत देखाउन नसके प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले सरकार बनाउने मौका पाउने देखिन्छ।

तर, नेकपाको रूपमा एमाले र माओवादीसँगै हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच देखिएको तिक्तताले सहजै यी दुई दल मिलेर सरकार बनाउँछन् भन्ने देखिन्न। 

तर, कांग्रेससँग माओवादीले आफ्नो नेतृत्त्व दावी गर्दा अस्वीकार गरेमा अनि एमालेले स्वीकार गरेको हकमा माओवादी-एमाले मिलेर सरकार बनाउने सम्भावना नकार्न सकिन्न।

यो अवस्थामा करिव २५ सिटसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यही गठबन्धनमा मिसिएर अंकका आधारमा बलियो सरकार बन्न पनि सक्छ।

माओवादी नआएको अवस्थामा एमालेले एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा सरकार बनाउन सक्छ। रास्वपाका नेताहरूको सार्वजनिक भनाइ हेर्दा उनीहरू सरकारमा जान हतारिइसकेका छन्। एमाले नेतृत्त्वसँग रास्वपाका सभापति रवि लामिछाने सकारात्मक देखिएका छन्। तर, एकिकृत समाजवादी एमालेसँग तत्काल गठबन्धनमा जानेमा भने सहज देखिँदैन।

माओवादीको समर्थन वा एकीकृत समाजवादी र रास्वपाको समर्थन नभए २ ठूला दल मिलेर आधा-आधा कार्यकाल सरकार चलाउने नै हो। शुक्रबार मध्यान्हसम्म सार्वजनिक भएको प्रत्यक्ष र समानुपातिक मत परिणामले कांग्रेस पहिलो दल हुने देखिन्छ तर उसको एकल बहुमत पाउने देखिँदैन।

जुन विधि र प्रक्रियाबाट, जुन दलको नेतृत्त्वमा सरकार बने पनि २०७९ को जनमत भने गन्जागोलै देखिन्छ, कुनै दलको पक्षमा देखिएन।

यसले संविधान अनुसार प्रतिनिधि सभामा बहुमतप्राप्त दलबाट सरकार बन्ने व्यवस्था अहिलेको प्रतिनिधि सभामा कार्यान्वयनमै नआउने देखियो। सरकार बनाउने दोस्रो व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त दलबाट प्रधानमन्त्री नियुक्त हुनेछन्।

मतगणना सकिएपछि सरकार बनाउँदा कार्यान्वयनमा आउने यही संवैधानिक प्रावधान हो। यसमा जुन दलले अन्य दलको समर्थनसहित बहुमत देखाउनसक्छ त्यही दलको संसदीय दलको नेताको नेतृत्त्वमा सरकार बन्छ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र पनि कुनै दलले बहुमत देखाउन नसके प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले सरकार बनाउने मौका पाउने देखिन्छ। तर, जुन विधि र प्रक्रियाबाट, जुन दलको नेतृत्त्वमा सरकार बने पनि २०७९ को जनमत भने गन्जागोलै देखिन्छ, कुनै दलको पक्षमा देखिएन।

मंसिर ९, २०७९ शुक्रबार १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।