रुपन्देही–२ मा रोकिएको मतगणना तुरुन्तै सुरू गर्न आयोगको निर्देशन, भन्यो– ‘प्रतिनिधि नबसे पनि गन्नू’

रुपन्देही–२ मा रोकिएको मतगणना तुरुन्तै सुरू गर्न आयोगको निर्देशन, भन्यो– ‘प्रतिनिधि नबसे पनि गन्नू’

बुटवल : निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर-२ को मतगणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।

मुचुल्कामा भएको भन्दा बढि मत मतपेटिकामा भेटिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धन दलले रूपन्देही-२ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेको थियो।

निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो।

विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रायसहितको निर्देशन दिँदै आयोगले भनेको छ- 'ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्नू।’

गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानून बमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ।

मतगणनाका क्रममा प्रतिनिधि उपस्थित नभए आयोगले आफैँ गणना गरी नतिजा प्रकाशित गर्ने अधिकार कानूनले दिएको छ। मतगणना रोक्न माग गर्दै अन्य दलका प्रतिनिधि बाहिरिएपछि गणना अवरुद्ध भएको थियो।

मंसिर ९, २०७९ शुक्रबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।