‘घण्टी जिल्लाभर गुञ्जियो तर सोचेजस्तो परिणाम आएन’

‘घण्टी जिल्लाभर गुञ्जियो तर सोचेजस्तो परिणाम आएन’

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी माया गुरुङले जिल्लाभर घण्टी गुञ्जिएको बताएकी छन्।

मतपरिणम सार्वजनिक भएपछि उकेरासँग कुरा गर्दै गुरुङले जिल्लाबाट आफूले नै जित्छुजस्तो लागेको बताइन्। यद्यपि नतिजा भने अर्कै आयो।

‘३०–४० वर्षदेखि स्थापित राजनीतिक दलहरूको अकर्मण्यता देखेका, भोगेका र छटपटाई रहेका जनताले विकल्पका रूपमा मलाई छान्छन् कि भन्ने अपेक्षा थियो,’ उनले भनिन्, ‘त्यस्तै आश्वासन पनि दिन्थे मानिसहरू। यस्तो लाग्थ्यो घण्टीको आवाज जिल्लाभरी गुञ्जिएको छ। तर, सोचेजस्तो परिणाम आएन।’

सत्ता गठबन्धनको चुनावी तालमेलले यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लडेका मोहन बस्नेत क्षेत्र नम्बर २ पुगेर विजयी भए। एमाले र कांग्रेसको प्रतिस्पर्धा रहेको यस क्षेत्रमा गुरुङले जम्मा दुई हजार ४५२ मत ल्याउँदा बस्नेतले ३९ हजार ३६७ मत ल्याएर विजयी भए।

माया गुरुङ सन् २००८ मा सगरमाथा आरोहण गर्ने पहिलो समावेशी नेपाली महिला टोलीका सदस्य हुन् भने गुरुङ समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला समेत हुन्।

उनको नेतृत्वको टोलीले सन् २०१९ मा सिन्धुपाल्चोकको ६१५१ मिटर उचाइको जुगल हिमालमा पहिलो मानव पाइला राखेर बाटो पहिल्याइ दिएको थियो। यस हिमालको बाटो खोल्ने उनी पहिलो महिला पनि हुन्।

मंसिर ९, २०७९ शुक्रबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।