प्रतिनिधिसभा सदस्यमा स्याङ्जा–१ बाट मरासिनीसँग बदला लिँदै कांग्रेसका थापा निर्वाचित

पोखरा : स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन्।
एमालेका नारायण मरासिनीलाई ३ हजार २ सय ५५ को मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन्। थापाले ३१ हजार ९ सय ९९ मत पाउँदा मरासिनीले २८ हजार ७ सय ४४ मत पाएका थिए।
०७४ को निर्वाचनमा प्रतिनिधिसभामा यसै क्षेत्रबाट मरासिनी विजयी भएका थिए। उनले अहिलेकै उम्मेदवार थापालाई पराजित गरेका थिए। पाँच वर्षमा २०७४ मा पराजित थापाले मरासिनीसँग बदला लिएका हुन्।
स्याङ्जामा मरासिनी र थापा लगातार तेस्रोपटक प्रतिस्पर्धामा थिए। पहिलो पटक २०७० सालमा कांग्रेसका थापाले एमालेका मरासिनीलाई पराजित गर्दै प्रतिनिधिसभा छिरेका थिए। यस्तै, २०७४ को निर्वाचनमा एमालेका मरासिनीले कांग्रेसका थापालाई पराजित गरेका थिए।
फरक–फरक पार्टीबाट संँग–सँगै निर्वाचन लडेर एक/एक पटक जितहारको अनुभव संगालेका दुवै नेतामध्येका मरासिनीले अहिले दोस्रो पटक पराजय भोगेका छन्। मरासिनी राजनीतिसँगै शिक्षा क्षेत्रमा लामो समय बिताएका छन्।
स्याङ्जा सदरमुकाम लगायतका क्षेत्रलाई केन्द्रीत गरेर लामो समयदेखि निजी विद्यालय सञ्चालन गर्दै आएका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका उनले पार्टीको जिल्ला कमिटी हुँदै प्रदेश सदस्यको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।
मरासिनी अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेर चुनाव जितेका थिए। तर, अहिले एमालेको विभाजन र कांग्रेससहितको गठबन्धनका कारण उनी पराजित हुन पुगे।
त्यसैगरी कांग्रेसका जिल्ला सभापति समेत रहेका थापा व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। उनले स्याङ्जाबाट केन्द्रीय राजनीतिमा आफ्नो दवदबा कायम गरेका पुर्व उपसभापति गोपालमान श्रेष्ठको कब्जामा रहेको कांग्रेसको राजनीतिमा प्रभाव बढाएका थिए।
मंसिर ९, २०७९ शुक्रबार १६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।