चार पार्टी बने राष्ट्रिय दल, अरू को–को प्रतिस्पर्धामा?

चार पार्टी बने राष्ट्रिय दल, अरू को–को प्रतिस्पर्धामा?

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ।

प्रत्यक्ष सँग–सँगै समानुपातिकतर्फको मत गणना पनि भइरहेको छ। योसँगै राष्ट्रिय दल को–को बन्न सक्छन् भन्ने प्रारम्भिक प्रक्षेपणसमेत गर्न थालिएको छ।

देशभर १ करोड ७९ लाख मतदाता रहेकोमा मंसिर ४ गते भएको निर्वाचनमा ६१ प्रतिशत मतदान भयो। त्यो भनेको करिब १ करोड ९ लाख मत हो।

खसेको मतमध्ये सदर भएको मतको ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने दल राष्ट्रिय दल बन्ने कानूनी प्रावधान छ। १ करोड ९ लाखको ३ प्रतिशत मत भनेको ३ लाख २९ हजार हुन आउँछ। यसरी हेर्दा अहिलेसम्म चार दल राष्ट्रिय दल बनिसकेका छन्।

एमालेले १२ लाख ६५ हजार, कांग्रेसले ११ लाख ९३ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ८६ हजार र माओवादी केन्द्रले ५ लाख ४५ हजार मत कटाएर उनीहरू राष्ट्रिय दल बनिसकेका छन्।

राष्ट्रिय दल बन्ने दौडको सबैभन्दा नजिक राष्ट्रिय प्रजातन्त्र पार्टी छ। उसले ३ लाख ३ हजार मत ल्याइसकेको छ भने जनता समाजवादी उसलाई पछ्याइरहेको छ। अहिलेसम्मको विवरणअुनसार यो पार्टीले १ लाख ४५ हजार मत प्राप्त गरेको छ।

माधवकुमार नेपाल नेतृत्त्वको एकीकृत समाजवादीले अहिलेसम्म ९७ हजार मत ल्याउँदा रेशम चौधरी नेतृत्त्वको नागरिक उन्मुक्ति पार्टीले ८५ हजार मत पाएर एकीकृत समाजवादीलाई पछ्याउँदैछ।

मंसिर ९, २०७९ शुक्रबार १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।