सोमप्रसाद पाण्डेलाई हराउँदै पाल्पा–२ मा ठाकुर गैरे विजयी

सोमप्रसाद पाण्डेलाई हराउँदै पाल्पा–२ मा ठाकुर गैरे विजयी

बुटवल : २०५१ सालदेखि निरन्तर रूपमा सोमप्रसाद पाण्डेले जित्दै आएको पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुर गैरे विजयी भएका छन्।

पूर्व सहकर्मी समेत रहेका पाण्डेलाई पराजित गर्दै गैरेले लामो पर्खाइपछि  प्रतिनिधिसभा सदस्यको यात्रामा सफल भएका हुन्।

एउटै पार्टीभित्र रहँदा सँधै पाण्डेको छायाँमा परेका गैरेले तिनै पाण्डेलाई पराजित गर्दै संसदीय निर्वाचनको पहिलो प्रयासमै निर्वाचित भएका हुन्।

एमाले विभाजनपछि पाण्डे माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेपछि अनेरास्ववियूका पूर्वअध्यक्ष समेत रहेका गैरेको लागि संसदको बाटो खुला भएको थियो।

गैरेले खसेको मतमध्ये २७ हजार ८१७ मत प्राप्त गरि विजयी हुँदा सत्ता गठबन्धनका पाण्डेले २३ हजार ८५१ मत प्राप्त गरेका छन्। गैरे र पाण्डेको मत अन्तर ३ हजार ९६६ रहेको छ।

क्षेत्र नं. २ मा १ लाख ५ हजार २ सय ९३ कुल मतदाता रहेकोमा ६४ हजार २ सय ३ मत खसेको थियो।

२०५१ सालदेखिका निर्वाचनमध्ये एउटा बाहेक सबैमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै निरन्तर निर्वाचित हुँदै आएका पाण्डेलाई यसपटक भने नेपाली कांग्रेस सहित सत्ता गठबन्धनको सहयोग रहेपनी आफ्नै पुर्व सहकर्मीले पराजित गरेका हुन्।

मंसिर ९, २०७९ शुक्रबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।