हार स्वीकार गर्दै शेरधन राईले भने- गठबन्धनले कुप्रचार, पैसा वितरण र भोजभतेर गर्याे

काठमाडाैं : प्रदेश १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले हार स्वीकार गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले चुनावी प्रतिस्पर्धामा हारजित स्वभाविक प्रक्रिया भएको पनि बताएका छन्।
'चुनावमा हारजित हुन्छ यसलाई स्वीकारेको छु। म पराजित भएर केही फरक परेको छैन', उनले भने, 'तर जिल्ला र भोजपुरबासीलाई फरक परेमा अफशोच हुनेछ। सबै मतदाता र शुभेच्छुकलाई निराश नहुन आग्रह गर्दछु। म सबैलाई निराश नहुन हार्दिक आह्वान गर्छु।'
उनले चुनावका क्रममा सत्ता गठबन्धनले भ्रम छर्ने काम पनि गरेको आराेप लगाएका छन्।
'अनेकन भ्रम, कुप्रचार, चरित्र हत्या, पैसा वितरण, भोजभतेर, आग्रह पुर्वाग्रह, घात अन्तर्घात र तमाम षडयन्त्रका बावजुद स्वच्छता, इमान्दारीता, पारदर्शिता र बिकासको पक्षमा मतदान गरेर माया गर्नुभएको छ', उनले भने।
भोजपुरमा लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन्। उनले २८ हजार ५ सय ७५ मत पाउँदा शेरधनले २६ हजार १९३ मात्र प्राप्त गरे। उनीहरूबीचको मतान्तर २ हजार ३ सय ८५ थियो।
मंसिर ९, २०७९ शुक्रबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।