प्रदीप ज्ञवाली हारे, कांग्रेसका चन्द्र भण्डारी चुनिए गुल्मी- १ का सांसद

काठमाडौं: गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार हालसम्मको गणनामा भण्डारीले ३२ हजार ९६२ मत ल्याएका छन्।
भण्डारीले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै निर्वाचित भएका हुन्। ज्ञवालीले ३१ हजार ५५५ मत ल्याएका छन्।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारी रहेका छन्। उनले एक हजार ८५४ मत पाएका छन्।
यसअघि २०७४ सालको निर्वाचनमा ज्ञवालीले भण्डारीलाई हराएका थिए।
निर्वाचन आयोगले हालसम्म औपचारिक विजेता घोषणा गरेको छैन। तर, गन्न बाँकी मतभन्दा बढीको मतान्तर भएकाले ज्ञवालीले हार स्वीकार गरिसकेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्ना मतदातालाई धन्यवाद तथा आभार प्रकट गरेका छन्।
उनले लेखेका छन्, 'अथक प्रयाशका बावजुद हाम्रो अभियान सफल हुन सकेन। तपाईंहरूको विश्वासलाई मतपरिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु। प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु। कहाँ कमीहरू रहन गए, समयक्रममा समीक्षा हुने नै छ।'
मंसिर ९, २०७९ शुक्रबार १३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।