सिरहा– ४ मा जसपाका महतो विजयी

सिरहा– ४ मा जसपाका महतो विजयी

काठमाडौं: सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा एमाले–जनता समाजवादी पार्टीका तर्फबाट जसपाका डा. वीरेन्द्रप्रसाद महतो विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार उनले जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई सात हजार ८०८ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार महतोले २४ हजार १०२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका साहले १६ हजार २९४ मत प्राप्त गरे।

यसैगरी सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ साहले १४ हजार ६५३ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका विमलकुमार तिवारीले एक हजार ६८३ मत प्राप्त गरे।

यस निर्वाचन क्षेत्रमा जम्मा ६५ हजार २१६ मत खसेकामा चार हजार २९४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

सिरहा–४ मा विजयी भएका महतो २०७० को दास्रो संविधान सभामा समानुपातिकतर्फबाट सभासद बनेका थिए।

मंसिर ९, २०७९ शुक्रबार १२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।