कास्की- ३ (क) मा कांग्रेसका बराल निर्वाचित

कास्की- ३ (क) मा कांग्रेसका बराल निर्वाचित

पोखरा: कास्की निर्वाचन क्षेत्र नम्बर ३ (क) मा नेपाली कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन्। बरालले एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका हुन्।

बरालले १२ हजार ३६७ मत ल्याउँदा पहारीले ११ हजार ९०२ मत पाएका थिए। यस्तै, राप्रपाका हरिराम भण्डारीले दुई हजार ५६० मत ल्याएका छन्।

बराल लामो समयसम्म खेलकुद क्षेत्रको जागिर छाडेपछि राजनीतिमा सक्रिय भएका हुन्। उनी गण्डकी कांग्रेसको कार्यलय सचिवको जिम्मेवारीमा समेत थिए। बराल नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा निकट छन्। उनै शुक्रराजको दबाबमा उनी प्रदेश सभाको उम्मेदवार बनेका थिए।

त्यस्तै बरालसँग पराजित भएका एमालेका पहारी निवर्तमान प्रदेश सांसद हुन्। पहारीले २०७४ को निर्वाचनमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए। विद्यार्थी राजनीतिबाट उदाएका पहारी प्रजातन्त्रिक राष्ट्रिय युवासंघको केन्द्रीय अध्यक्ष समेत भएका थिए।

कास्की ३ (क) मा एमालेका गणेशमान गुरुङ यसअघि नै विजयी भइसकेका छन्। कास्की- ३ मा प्रतिनिधि सभातर्फ एमालेका दामोदर पौडेल बैरागी निर्वाचित भइसकेका छन्।

मंसिर ९, २०७९ शुक्रबार १०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।