पाँचथर: कांग्रेसका आङदेम्बेलाई ४७ मतले हराउँदै एमालेका नेम्वाङ निर्वाचित

पाँचथर: कांग्रेसका आङदेम्बेलाई ४७ मतले हराउँदै एमालेका नेम्वाङ निर्वाचित

काठमाडौं: पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित भएका छन्। गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्।

नेम्वाङले ३२ हजार ११०.मत प्राप्त गर्दा आङदेम्बेले ३२ हजार ६३ मत पाए। नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्। ०७४ सालमा पनि उनले आङदेम्बेलाई नै हराउँदै प्रतिनिधि सभा सदस्य बनेका थिए।

०७६ सालमा करिब १८ महिना उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए।

यस्तै यस क्षेत्रमा प्रदेश सभा (क) मा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कमलप्रसाद जवेगू विजयी भएका छन्। नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई ६३३ मतान्तरले हराउँदै जवेगू प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले १६ हजार ८३७ मत प्राप्त गरे। भण्डारीले १६ हजार २०४ मत प्राप्त गरे।

प्रदेश सभा (ख)बाट सत्ता गठबन्धनकै माओवादी केन्द्रका इन्द्रबहादुर आङवो  विजयी भए। प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरले पराजित गर्दै आङबो दोस्रो पटक विजयी भएका हुन्।

३४ हजार ३६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार ६७२ मत  प्राप्त भएको छ। उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६०५ मत पाएका थिए।

मंसिर ९, २०७९ शुक्रबार ०९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।