रुकुम पश्चिम: माओवादीको 'क्लिन स्वीप', अर्थमन्त्री शर्मा साढे २६ हजार मतान्तरले विजयी

सुर्खेत: रुकुम पश्चिममा संघीय सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ फराकिलो मतान्तरले विजयी भएका छन्। शर्माले २६ हजार ५८८ मतान्तरले एमालेका उम्मेदवार नन्दराम देवकोटालाई पराजित गरेका हुन्।
यस क्षेत्रमा कुल ६० हजार ५६२ मत खसेकोमा शर्माको पक्षमा ३९ हजार ५४९ मत आएको थियो। एमालेका देवकोटाले १२ हजार ९६१ मत पाए।
यस्तै शर्माविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार ५६७ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार मल्लले ७९६ मत पाएका छन्।
शर्माको यो चौथो जित हो। यसअघि ०६४, ०७०, ०७४ मा पनि उनी फराकिलो मतान्तरले निर्वाचित भएका थिए।
यता प्रदेश सभाअन्तर्गत पनि माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन्। (क) र (ख) दुवै क्षेत्रमा माओवादी उम्मेदवारहरू फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। २९ हजार ५४३ मत खसेको (क) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मतसहित निर्वाचित भएका छन्।
उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९९५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। एमालेका शाहका पक्षमा आठ हजार ८१ मत आएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार शाहले एक हजार ११ मत पाए।
यता (ख) मा माओवादीलकै राजकुमार शर्मा १२ हजार ८२ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका छन्। यहाँको कुल मत ३० हजार ४२९ हो। शर्माले २० हजार १६० मत पाउँदा नेकपा एमालेका कर्णबहादुर घर्ती मगरले आठ हजार ७८ मत पाए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले एक हजार १०७ मत पाए।
निर्वाचित शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीका प्रमुख दावेदार हुन्।
मंसिर ९, २०७९ शुक्रबार ०७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।