सुर्खेत १ (ख) र २ (ख) माओवादीका जिसी र विष्ट विजयी

सुर्खेत : प्रदेश सभा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (ख) मा माओवादीका कृष्ण जिसी र २ (ख) विन्दमान विष्ट विजयी भएका छन्।
२ प्रदेश सभा (ख) मा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन्। विष्टले एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन्।
जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गरेका हुन्। जिसी माओवादीको कर्णाली प्रदेश कमिटि सदस्य हुन्।
२(ख) मा ३१ हजार ६८२ मत खसेको थियो। जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ। एमालेका गौतको पक्षमा ९ हजार ३३४ मत आएको छ।
विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका छन्। यो विष्टको दोस्रो जित हो। विजयी विष्ट सुर्खेत जेलब्रेकका एक कमाण्डर हुन्।
विद्यार्थी छँदादेखिनै माओवादीले सुरू गरेको जनयुद्धमा सहभागी भएका विष्ट वि.सं. २०३६ सालमा कालिकोटमा जन्मिए पनि अहिले सुर्खेतको बराहताल गाउँपालिका–१ मा बसोबास गर्दै आएका हुन्।
०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भूमिगत भएका थिए। ०५६ देखि उनले ०५८ माघ १ सम्म अर्थात १८ महिना जेल जीवन बिताएका छन्।
२०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर केही समय उनले अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए। उनले प्रदेश सरकारको मुख्यमन्त्रीको दाबेदारको रुपमा आफुलाई अगाडि बढाइरहेका छन्।
मंसिर ८, २०७९ बिहीबार १८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।