सिन्धुपाल्चोकबाट तीन माओवादी नेता विजयी

काठमाडाैं : सिन्धुपाल्चोकमा माओवादी केन्द्रका तीन नेताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी भएका छन्।
माधव सापकोटा र सरल सहयात्री पहिलो पटक संसद पुगेका छन् भने युवराज दुलाल दोस्रोपटक निर्वाचित भएका छन्।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा ‘सुवोध’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा ३० हजार ३७४ मत सहित विजयी भए।
उनका निकटतम प्रतिस्पर्धी एमालेका केन्द्रीय सदस्य सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि परे।
माओवादी नेता सापकोटाले पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन्। उमेरले भर्खरै ४० पुगेका नेता सापकोटालाई नेपाली कांग्रेससहित सत्ता गठबन्धनको साथ रहेको थियो।
यससँगै अर्का सरल सहयात्री पौडेल दोस्रो प्रयासमा संसदमा पुगेका छन्। उनी सिन्धुपाल्चोक–१ प्रदेश सभा–२ बाट निर्वाचित भएका हुन्।
सरल १७ हजार २५६ मतसहित प्रदेश सभामा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ मत पाए।
उनी २०७० काे संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक-१ बाट उमेदवार भएर पराजित भएका थिए।
अर्का माओवादी पोलिटब्यूरो सदस्य युवराज दुलाल दोस्रोपटक भारी मतसहित प्रदेश सभामा विजयी भएका छन्। उनी सिन्धुपाल्चाेक २(१) बाट निर्वाचित भएका हुन्।
दुलालले २० हजार ९०६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका अमानसिंह तामाङले १२ हजार १३९ मत ल्याए।
मंसिर ८, २०७९ बिहीबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।