सल्यान प्रदेश सभा (क) मा माओवादीका शर्मा र कालिकोट (क) मा रावत विजयी

सल्यान प्रदेश सभा (क) मा माओवादीका शर्मा र कालिकोट (क) मा रावत विजयी

सुर्खेत: सल्यानको प्रदेश सभा (क) मा माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन्। शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरेका हुन्।

उनले गिरीलाई आठ हजार १४ मतान्तरले पराजित गरेका हुन्। शर्माले २२ हजार २४३ मत प्राप्त गर्दा एमालेका गिरीले १४ हजार २२५ मत पाए।

त्यसैगरी कालिकोटबाट प्रदेश सभा (क) मा पनि नेकपा एमालेका उम्मेदवार कुर्मराज शाही पराजित भएका छन्। उनलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले एक हजार ५९ मतान्तरले पराजित गरेका हुन्।

खसेको ३१ हजार मतमध्ये रावतको पक्षमा नौ हजार ११ र शाहीको पक्षमा सात हजार ९५२ आएको छ।

कुर्मराज ०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेर ११ हजार ९३५ मतसहित विजय भएका थिए। उनी ‘फ्लोर क्रस’ गरेर मन्त्री बनेका थिए। एमालेले उनको सांसद पद खोसिदिए पनि उनी ६ महिना भूमि, व्यवस्था तथा सहकारी मन्त्री बने।

एमाले विभाजनपछि समाजवादीमा लागेका उनी टिकट वितरण हुनु एक दिनअघिसम्म समाजवादीकै प्रचारमा व्यस्त थिए। तर सो क्षेत्र माओवादीको भागमा पर्ने भएपछि रातारात एमाले प्रवेश गरे। उनलाई एमालेले टिकट पनि दियो।

विजयी रावत भने ०७४ मा प्रतिनिधि सभा निर्वाचन जितेका व्यक्ति हुन्।

मंसिर ८, २०७९ बिहीबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।