दैलेख- १: कमजोर सांगठनिक पकड भए पनि गठबन्धनको आडमा एकीकृत समाजवादीका थापा विजयी

सुर्खेत: दैलेख निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनका अम्मरबहादुर थापा विजयी भएका छन्। एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापाले १८ हजार २५६ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रवीन्द्रराज शर्माले १७ हजार ४०७ मत पाए। थापाले ८४९ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तिकुमारी शाहीले चार हजार ६०२ मत प्राप्त गरेकी छन्।
थापाले यसअघि ०६४, ०७० र ०७४ को संसदीय निर्वाचन भाग लिइसकेका छन्। जसमा ०६४ मा पराजित भए भने दुई वटा संसदीय निर्वाचनमा उनी सफल भए। ०७४ मा उनी दैलेख १ (ख) बाट प्रदेश सभामा चुनाव जितेका थिए।
थापालाई यसपटक नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ थियो। जसका कारण निकै कमजोर सांगठनिक अवस्था रहेको दलका नेता थापा विजयी भएका हुन्।
२०१२ सालमा भगवतीमाई गाउँपालिका- १ दैलेखमा जन्मिएका थापा पटक–पटक निर्वाचनमा भाग लिँदै आएका नेता हुन्। ०२८ र ०३२ सालमा दुई पटक वडाध्यक्ष ०३५ सालमै उपप्रधान बनेका उनी ०३३ सालको जनमतसंग्रहमा सक्रिय रूपमा सहभागी भएका थिए।
त्यो बेला बहुदलको पक्षमा उभिएका थापा ०३९ सालमा जिल्ला पञ्चायत सदस्य हुँदै ०४८ सालमा नेकपा एमालेमा आबद्ध भएका थिए। तथापि उनी ०४२ सालमै कम्युनिष्ट पार्टीप्रति आस्थावान् थिए।
उनले राजनीतिक संघर्षकै बेलामा १३ पटक हिरासत र डेढ महिना जेल जीवन बिताएका छन्। ०४८ सालमै स्वतन्त्र उम्मेदवारी दिएर जिल्ला विकास समितिमा उनी विजयी समेत भएका थिए।
उनले १४ वर्ष नेकपा एमालेको जिल्ला कमिटीको नेतृत्त्व गरेका थिए। प्रदेश सरकारमा नेकपाभित्रको अन्तसंघर्षका क्रममा थापा विद्रोही भूमिकामा प्रस्तुत भए।
पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिने एमालेको निर्णयविरुद्ध ‘फ्लोर क्रस’ गरेका उनको सांसद पद एमालेले खोसिदियो। तर पनि उनले ६ महिना प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाए।
उनी हाल माधव नेपाल नेतृत्त्वको एकीकृत समाजवादीमा लागेर प्रदेश अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।
मंसिर ८, २०७९ बिहीबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।