तनहुँ- १: रामचन्द्र पौडेल निर्वाचित, दुश्मनी साँध्न चुनाव लडेका जोशी तेस्रो

तनहुँ- १: रामचन्द्र पौडेल निर्वाचित, दुश्मनी साँध्न चुनाव लडेका जोशी तेस्रो

पोखरा: तनहुँको क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्। पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई पाँच हजार ३७५ मतान्तरले पराजित गरेका हुन्।

पौडेलले २५ हजार ३१८ मत ल्याउँदा प्रतिस्पर्धी रानाले १९ हजार ९४३ मत पाएका छन्। स्वतन्त्र उमेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत पाएर तेस्रो भएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ मत प्राप्त गरे।

पौडेल यस क्षेत्रबाट छैटौँ पटक निर्वाचित भएका हुन्। २०७४ को निर्वाचनमा उनी एमालेका कृष्णकुमार (किसान) श्रेष्ठसँग पराजित भएका थिए। कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँको यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि सातौँ पटक चुनाव लडेका थिए।

२०४८ सालमा पहिलो पटक चुनाव लडेका उनी लगातार ६ पटकसम्म विजयी भए। २०७४ को निर्वाचनमा भने नेता पौडेल पराजित भए।

लामो समयदेखि केन्द्रीय राजनीतिमा प्रभाव जमाएका पौडेल यसपटकको निर्वाचनमा एउटै पार्टीमा रहेर राजनीति गरेका पुराना सहकर्मी गोविन्दराज जोशी र एमालेका एकबहादुर रानासँग प्रतिस्पर्धामा थिए। जोशीले विगतको दुश्मनी साँध्नका लागि पौडेलसँग चुनाव लडेका थिए।

उनले पछिल्लो समय पौडेलविरुद्ध तनहुँमा विभिन्न नेतादेखि कार्यकर्तासम्म मिलाएर मोर्चाबन्दीको अगुवाइ गर्दै आएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा छोरा दीपकराज जोशीलाई एमालेसँगको सहकार्यमा उम्मेदवार बनाएर उनले आफ्नो हैसियतको मापन गरेका थिए।

तर, निर्वाचनमा उनले सोचेको भन्दा फरक परिणाम आएको छ। जोशी निकटहरूले जोशीले यस क्षेत्रबाट झण्डै १२ हजार मत पाउने अनुमान गरेका थिए।

मंसिर ८, २०७९ बिहीबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।