डोटी र सल्यानमा एकीकृत समाजवादीको जित, प्रेम आले र प्रकाश ज्वाला निर्वाचित

डोटी र सल्यानमा एकीकृत समाजवादीको जित, प्रेम आले र प्रकाश ज्वाला निर्वाचित

काठमाडौं: डोटीमा प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले विजयी भएका छन्। उनले २७ हजार २१० मत ल्याई पुनः विजयी भएका हुन्।

उनको निकटतम् प्रतिद्वन्द्वी एमालेकी गौरी ओलीले २३ हजार चार मत प्राप्त गरिन्।

यस्तै सल्यानमा पनि प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी भएका छन्।

पार्टीका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार ७०० मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए। उनका अनुसार ज्वालाले निकट प्रतिस्पर्धीभन्दा १५ हजार ९११ मत बढी ल्याएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गरेका थिए। त्यस्तै, एमालेका उम्मेदवार राजेन्द्रवीर रायले तेस्रो हुँदै १३ हजार २९ मत प्राप्त गरे।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार गत आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एक लाख ५७ हजार ७०१ मतदाता सङ्ख्या भएकामा ८४ हजार ८८ मत खसेको थियो।

मंसिर ८, २०७९ बिहीबार ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।