कास्की- २: ४५ सय मतान्तरले एमालेकी विद्या भट्टराई निर्वाचित, उपनिर्वाचनमा भन्दा सात हजार मत कम ल्याइन्

कास्की- २: ४५ सय मतान्तरले एमालेकी विद्या भट्टराई निर्वाचित, उपनिर्वाचनमा भन्दा सात हजार मत कम ल्याइन्

पोखरा: कास्कीको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छन्। निकट प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई चार हजार ५०३ मतान्तरले हराउँदै भट्टराई विजयी भएकी हुन्।

भट्टराईले १६ हजार ९९८ मत प्राप्त गरिन्। स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४९५ मत प्राप्त गरे।

यस्तै सत्ता गठबन्धका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका श्रीनाथ बरालले नौ हजार ६५९ मत प्राप्त गरे।

विगतमा यस क्षेत्रबाट एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीले निरन्तर चुनाव जित्दै आएका थिए। उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा उनकी श्रीमती विद्या भट्टराईले चुनाव जितेकी थिइन्। त्यसबेला भट्टराईले २४ हजार ३९४ मत ल्याएकी थिइन्। यसपटक उनले सात हजार ३९६ मत कम ल्याइन्।

रवीन्द्रको निधनपछि पार्टीका शीर्ष नेताकै आग्रहमा उनी यस क्षेत्रबाट उपनिर्वाचनमा उम्मेदवार बनेकी थिइन्। यो क्षेत्रबाट ०६४, ०७० र ०७४ गरी लगातार तीन वटै निर्वाचनमा एमाले नेता अधिकारीले जितेका थिए। यसपटक पनि एमालेको विरासत जोगिएको छ।

तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय उनी अखिलको सचिव हुँदै पार्टी राजनीतिमा आएकी हुन्। भट्टराई ०४९ सालको स्ववियू निर्वाचनमा अनेरास्ववियूबाट पद्यकन्या क्याम्पसको स्ववियू सभापतिकी प्रत्यासी बनेकी थिइन्। उनी शंकर पोखरेल अनेरास्ववियूको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी थिइन्।

त्यस्तै अनेरास्वावियूमा योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा उनी महिला विभाग प्रमुख थिइन्। ०५५ सालमा रवीन्द्रसँग विवाह गरेपछि भट्टराई सक्रिय राजनीतिमा कमै देखिएकी थिइन्।

भट्टराई रवीन्द्रको स्वर्गारोहणपछि विश्वविद्यालयको उपप्रध्यापकको स्थायी जागिर छाडेर पार्टीको दवावमा सक्रिय राजनीतिमा आएकी थिइन्।

उनले संसद्को पहिलो कार्यकाल पूरा गरेसँगै फेरि सांसदमा उठ्न चाहेकी थिइनन्। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुनः उनी यस क्षेत्रबाट चुनाव लडेकी हुन्।

मंसिर ८, २०७९ बिहीबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।