काठमाडौं ७: समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई धेरै मत

काठमाडौं: काठमाडौं निर्वाचन क्षेत्र नंं ७ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत प्राप्त गरेको छ। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको गए राति सम्पन्न समानुपातिकको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार ४३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्।
यस्तै, दोस्रो समानुपातिक मत एमालेले चार हजार ४६६, तेस्रो समानुपातिक मत नेपाली कांग्रेसले तीन हजार ७१०, चौथो समानुपातिक मत राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ९६४ र पाँचौँ समानुपातिक मत माओवादी केन्द्रले एक हजार १५४ प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताइन्।
काठमाडौंको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो। ६१ हजार २९२ मतदाता रहेको सो क्षेत्रमा समानुपातिकतर्फ कुल २६ हजार ४१७ मत खसेकोमा २५ हजार २१९ मत सदर र एक हजार १९८ मत बदर भएको थियो।
यस्तै, सो क्षेत्रको प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ हजार ७४३ मत ल्याई विजयी भएका छन्।
मंसिर ८, २०७९ बिहीबार ०९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।