ललितपुर- ३: तोसिमा कार्की निकट प्रतिस्पर्धीभन्दा १८ हजार १७३ मत बढी ल्याउँदै विजयी

ललितपुर- ३: तोसिमा कार्की निकट प्रतिस्पर्धीभन्दा १८ हजार १७३ मत बढी ल्याउँदै विजयी

काठमाडौं: ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित भएकी छिन्। हालसालै सम्पन्न मतगणनाअनुसार कार्कीले ३१ हजार १३६ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्।

यस क्षेत्रमा कुल ६१ हजार ६७८ मत खसेको थियो। कार्कीका निकट प्रतिस्पर्धी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याए। उनीहरूबीच १८ हजार १७३ मतको अन्तर छ।

यस्तै यस क्षेत्रकी निवर्तमान सांसद पम्फा भुसाल तेस्रो भइन्। उनले सत्ता गठबन्धनको समेत साथ पाउँदा पनि जम्मा आठ हजार ७६९ मत मात्र ल्याइन्।

यस मतपरिणामको औपचारिक घोषणा भने भएको छैन। निर्वाचन आयोगले केही बेरमा कार्कीलाई विजयी घोषणा गर्ने तयारी थालेको छ।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो। तर आयोगको उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

त्यसपछि सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्नुका साथै कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय बदर गरिदिएको थियो।

मंसिर ८, २०७९ बिहीबार ०८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।