रुपन्देहीका पाँचमध्ये दुई क्षेत्रमा सकियो मतगणना, अन्त यस्तो छ अवस्था

बुटवल: पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा दुई क्षेत्रमा भने मतगणना सकिएको छ। अन्य क्षेत्रमा गणना जारी छ।
रुपन्देही- ५ मा सम्पन्न गणनामा प्रतिनिधि सभामा एमालेका वासुदेव घिमिरे विजयी भएका छन्। उनले ३६ हजार ८२२ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतकुमार शाहले २७ हजार १२० मत ल्याएका छन्।
यहाँको प्रदेश (क) बाट एमालेका भूमिश्वर ढकाल तथा (ख) बाट जनमतका एसके गुप्ता विजयी भएका छन्।
क्षेत्र नं ४ को पनि गणना सकिएको छ। यहाँबाट प्रतिनिधि सभा सदस्यमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन्। उनले २८ हजार मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद यादवले २२ हजार ७०४ मत ल्याएका छन्।
यहाँबाट प्रदेश सभा (क) मा लोसपाका कन्यैया बानिया र (ख) मा कांग्रेसका बसिउद्दिन खाँ विजयी भएका छन्।
मतगणना जारी रहेको क्षेत्र नं १ मा एमालेका छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन्। उनले नौ हजार ९७५ मत ल्याउँदा सत्ता गठबन्धनको समर्थनका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले आठ हजार ३७३ मत पाएर पछ्याइरहेका छन्।
यो क्षेत्रमा प्रदेशतर्फको गणना सकिएको छैन। प्रदेश (क) मा राप्रपाका आशिष चौधरी र (ख) मा एमालेका दधिराम न्यौपानेको अग्रता छ।
क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ एमालेका विष्णु पौडेलले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार ५९० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १३ हजार ७२६ मत लिएर पछ्याइरहेका छन्।
यहाँबाट गठबन्धनका उम्मेदवार जनमुक्तिका केशव थापाले ११ हजार ५१४ मत ल्याएका छन्। ८१ हजार २०२ मत खसेको यो क्षेत्रमा ३८ हजार मत गन्न बाँकी छ। यहाँको प्रदेश (क) मा एमालेका लीला गिरी विजयी भएका छन् भने (ख) मा गणना जारी छ।
क्षेत्र नं ३ मा नेपाली कांग्रेसका बालकृष्ण खाँणले अग्रता लिएका छन्। उनले १७ हजार ८७८ मत ल्याउँदा राप्रपाका दीपक बोहोराले १७ हजार २०२ मतका साथ पछ्याइरहेका छन्।
यहाँको प्रदेश (क)मा लोसपाका सन्तोष पाण्डे विजयी भए भने (ख)मा गणना जारी छ।
मंसिर ८, २०७९ बिहीबार ०८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।