रौतहट ३ (क): मेयर पदमा झिनो मतान्तरले हारेका चौधरी प्रभु साहको प्यानलबाट प्रदेशको सांसद भए

गौर: रौतहट क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेदवार केशवराय चौधरी प्रदेश सभामा सदस्य निर्वाचित भएका छन्। प्रभु साहको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले एमाले-जसपा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी जसपाकी पूजा चौधरीलाई दुई हजार १२३ मतान्तरले पराजित गरेका हुन्।
यस क्षेत्रको अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार चौधरीले १२ हजार २५५ मत प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी जसपाकी पुजा चौधरीले १० हजार १३२ मत पाइन्।
मधेश प्रदेशको वन राज्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार सात हजार ६२२ मतका साथ तेस्रो भएका छन्।
निर्वाचित भएका ४४ वर्षीय चौधरी पेसाले इन्जिनियर हुन्। उनी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा ३४४ मतको झिनो अन्तरले पराजित भएका थिए।
नेकपा एमालेले जसपासँग गठबन्धन गरेपछि तत्कालीन एमालेका स्थायी कमिटी सदस्य साहले एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। निर्वाचित भएका चौधरीले पनि साहलाई साथ दिँदै स्वतन्त्र प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए।
मंसिर ८, २०७९ बिहीबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।