सुर्खेत २(क): एमालेबाट मुख्यमन्त्रीका आकांक्षी कँडेल १६१ मतान्तरले विजयी

सुर्खेत २(क): एमालेबाट मुख्यमन्त्रीका आकांक्षी कँडेल १६१ मतान्तरले विजयी

सुर्खेत: सुर्खेतको क्षेत्र नम्बर २ (क) मा एमालेका उम्मेदवार यमलाल कँडेल विजयी भएका छन्। बिहीबार बिहान सकिएको मतगणनामा एमालेका कँडेलले १८ हजार ५६१ मत ल्याए।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य १८ हजार ४०० मत पाएर पराजित भए। यस्तै माओवादी केन्द्रका सूर्यबहादुर खत्रीले तीन हजार ६८५ मत ल्याउँदा एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायले एक हजार २७५ मत प्राप्त गरेका छन्।

कँडेल एमालेबाट कर्णाली प्रदेशका मुख्यमन्त्रीका दावेदार हुन्। उनले यसअघि पनि मुख्यमन्त्रीकाे दावी गर्दै प्रदेश सभामा ५ वर्ष बिताएका थिए।

कँडेल  र शाक्य २०४९ सालमा वीरेन्द्रनगरकाे मेयरका लागि प्रतिस्पर्धी थिए। तत्कालीन समयमा कँडेलले निर्वाचन जितेका थिए।

कँडेल यसअघि २०७४ मा मुख्यमन्त्रीको आकांक्षासहित सुर्खेत क्षेत्र नं २ (क) बाट प्रदेश सभामा चुनाव लडेका थिए। कँडेलले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गरेका थिए। कँडेलले २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए। त्यसबेला कांग्रेस एक्लै चुनावी मैदानमा थियो भने एमाले र माओवादीले वाम गठबन्धन गरेका थिए।

०७४ मा एमाले र माओवादीबीचको गठबन्धनमा भागबण्डा हुँदा कर्णालीमा सरकारको नेतृत्त्व माओवादीको भागमा परेपछि कँडेल मुख्यमन्त्री बन्न पाएनन्। नेकपा विभाजन र एमालेकै सांसदहरूले फ्लोरक्रस गरेका कारण बहुमत हुँदाहुँदै पनि कँडेल मुख्यमन्त्री बन्न सकेनन्।

मंसिर ८, २०७९ बिहीबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।