बागलुङ –२ बाट माओवादी केन्द्रका पौडेल निर्वाचित, मतान्तर ४५९९

बागलुङ –२ बाट माओवादी केन्द्रका पौडेल निर्वाचित, मतान्तर ४५९९

पोखरा : बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका छन्।

गठबन्धनबाट उमेदवार बनेका पौडेलले २४ हजार ७७९ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत पाइन्। उनीहरूबीचको मतातर ४ हजार ५९९ हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पौडेल यस क्षेत्रबाट दास्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। २०७४को निर्वाचनमा वाम गठबन्धनबाट यसै क्षेत्रबाट विजयी भएका पौडेल अहिले सत्तारुढ गठबन्धनका तर्फबाट साझा उमेदवार बनेका थिए।

०७४ मा एमाले र जनमोर्चाको सहयोगमा कांग्रेसलाई पराजित गरेका पौडेल अहिले कांग्रेसको सहयोगमा एमालेलाइ पराजित गरेका छन्। पौडेल माओवादीका स्थायी कमिटी सदस्य हुन्।

२०२१ सालमा बागलुङको अमलाचौरमा जन्मिएका पौडेल पञ्चायतकाल र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका थिए। अखिल क्रान्तिकारीमा आबद्ध भएर राजनीतिक यात्रा थालेको उनी विद्यार्थी संगठनमा कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका थिए।
 
२०६२ मा माओवादीको पोलिटव्यूरो सदस्य भएका पौडेल २०७१ मा केन्द्रीय सदस्य भएका थिए । उनी २०७५ तात्कालिन एमालेसंग पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य समेत बनेका थिए।

शुरुदेखिनै माओवादी सशस्त्र युद्धमा सहभागी पौडेल २०६८ मा डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार बनेका थिए। डा.भट्टराईले तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरेर नयाँ शक्ति बनाएपछि उनी पनिसँगै गएका थिए।

केही समयपछि डा.भट्टराईको साथ छाडेर नेता पौडेल माओवादीमै फर्किए।

मंसिर ७, २०७९ बुधबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।