१० वर्षपछि एमालेमै फर्किएर कास्की ३ (क)बाट निर्वाचित भए गुरुङ

पोखरा : कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा एमालेका गणेश गुरुङ निर्वाचित भएका छन्।
सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुर्गादत्त भण्डारीलाई ४ हजार ८११ मतले पछि पार्दैै उनी विजयी भएका हुन्।
गुरुङले १४ हजार ४७३ मत ल्याउँदा भण्डारीले ९ हजार ६६२ मत प्राप्त गरे। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत प्राप्त गरे।
गुरुङ र झण्डारीको मतान्तर ९ हजार ६६२ रहेको छ।
सत्तारुढ दलबीच निर्वाचनमा सहकार्य गरे पनि कांग्रेसले अन्तरघात गरेकाले पराजय भोग्नुपरेको माओवादी केन्द्रले आरोप लगाएको छ। यस क्षेत्रमा भण्डारीलाई कांग्रेसले मत नदिएको स्पष्ट हुन्छ।
स्थानीय निकायको निर्वाचनमा यस क्षेत्रबाट माओवादीले तीन हजार भन्दा बढी मत ल्याएको थियो।
निर्वाचित गुरुङ कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका स्थानीय हुन्।
उनी २०६९ सालमा एमाले त्यागेर संघीय समाजवादीमा गएका थिए। झण्डै १० वर्षपछि गत फागुन १३ गते उनी पुनः एमालेमै फर्किएका हुन्।
मंसिर ७, २०७९ बुधबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।