तनहुँ- २: प्रदेश सभा (क) मा एमालेका महत र (ख) मा कांग्रेसका आले विजयी

तनहुँ- २: प्रदेश सभा (क) मा एमालेका महत र (ख) मा कांग्रेसका आले विजयी

पोखरा: तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभाका दुई सिटमा नेकपा एमाले र नेपाली कांग्रेसले एक/एक सिट जितेका छन्। प्रदेश सभा (क) मा एमालेका श्यामराजा महत विजयी भएका छन्।

उनले गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेलाई पराजित गरेका हुन्। महतले १५ हजार ६५३ मत ल्याउँदा न्यौपानेले १३ हजार ८८१ मत प्राप्त गरेका छन्।

महत र न्यौपानेबीचको मतान्तर एक हजार ७७२ रहेको छ। २०७४ को निर्वाचनमा माओवादीकी आशा कोइराला विजयी भएकी थिइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमराज अधिकारीले चार हजार २२० मत ल्याएका छन्। कुल ३७ हजार ७९५ मतमध्ये एक हजार ६३० मत बदर भएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए।

त्यसैगरी प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन्। आले ६४० मतान्तरले निर्वाचित भएका हुन्।

उनले १३ हजार ८६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केदार सिग्देलले १३ हजार २२० मत प्राप्त गरेका छन्।

प्रदेश सभामा निर्वाचित आले नेपाली कांग्रेसका जिल्ला सभापति हुन्। सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधि सभा सदस्य हुन्।

२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेश सभामा प्रतिस्पर्धा गरेका थिए।

मंसिर ७, २०७९ बुधबार ११:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।