हुम्लाका चार गाउँपालिकाका मतपेटिका चार दिनसम्म पनि सदरमुकाम पुग्न सकेन

हुम्लाका चार गाउँपालिकाका मतपेटिका चार दिनसम्म पनि सदरमुकाम पुग्न सकेन

काठमाडौं: मतदान सम्पन्न भइसके पनि हुम्लाका चार गाउँपालिकाका मतपेटिका हालसम्म पनि मतगणनास्थल ल्याइपुर्याइएको छैन।भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो।

चार गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन्। प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना सुरु हुन नसकेको हो।

सर्केगार्डबाट सदरमुुकाम सिमकोट पुुग्न डेढ दिन पैदल हिँड्नुपर्छ। त्यहाँबाट हेलिकप्टरमा ढुवानी गर्नका लागि निर्वाचन आयोगसँग कुरा भइरहेका कारण मतपेटिका रोकिएका हुन्। 

सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकप्टरमा ढुवानीका लागि कुरा भइरहेको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए। उनका अनुसार आज दिउँसोसम्म मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिनेछ।

सर्केगार्डमा ताँजाकोटका सात, अदानचुलीका आठ, चङ्खेलीका आठ र सर्केगार्डका ११ वटा मतदान केन्द्रका मतपेटिका छन्।

यस्तै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा निर्वाचनमा खटिएका कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी गरेर ४९ जना बाटोमै रोकिएका छन्। न्यालु लेकमा हिउँ जमेकाले पैदल हिँडेर आउन समस्या हुने देखिएपछि उनीहरू पनि हेलिकप्टरको पर्खाइमा छन्।

मंसिर ७, २०७९ बुधबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।