बागलुङको चार वटै प्रदेश सभा सदस्यमा कांग्रेसका उम्मेदवार विजयी

बागलुङको चार वटै प्रदेश सभा सदस्यमा कांग्रेसका उम्मेदवार विजयी

पोखरा: बागलुङको चार वटै प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गठबन्धन गर्ने क्रममा बागलुङको दुई वटा प्रतिनिधि सभामध्ये एउटा राष्ट्रिय जनमोर्चा र अर्को माओवादी केन्द्रको भाागमा परेपछि प्रदेशका चार वटा सिट कांग्रेसको भागमा परेको थियो।

२०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा बागलुङको क्षेत्र नं १ मा एमालेका सूर्य पाठक विजयी भएका थिए भने क्षेत्र नं २ मा माओवादीका देवेन्द्र पौडेलले चुनाव जितेका थिए।

प्रदेश सभामा भने जनमोर्चाले तीन सिट जितेको थियो भने माओवादीले एक सिट जितेको थियो। तर, विगतको निर्वाचनमा बागलुङको प्रतिनिधि सभा र प्रदेश सभाका सबै सिट गुमाएको कांग्रेसले यसपटक भने प्रदेश सभाका चारै सिट जितेको हो।

बागलुङ- १ को (क) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन्। उनले १३ हजार ८८४ मत पाए। उनका प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर केसीले १२ हजार ४०५ मत पाएका छन्।

बागलुङ १ (ख) मा कांग्रेसका युवा उम्मेदवार डिल्लीराम सुवेदी विजयी भएका छन्। सुवेदीले १३ हजार ३२० मत पाएर चुनाव जितेका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज पौडेलले सात हजार २५३ मत पाए।

पौडेल लामो समय कांग्रेसको जिल्ला राजनीतिमा सक्रिय भएर केही समयअघि एमालेमा प्रदेश गरेपछि प्रदेश सभामा टिकट पाएका थिए।

बागलुङ २ (क) मा कांग्रेसका जित शेरचनलले चुनाव जितेका छन्। उनी यसअघि २०७४ र २०७६ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारसँग पराजित भएका थिए। शेरचनले १५ हजार १०६ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेको समर्थनमा उम्मेदवार बनेका माओवादीका बागी प्रकाश घर्तीले १२ हजार ८ मत पाए।

बागलुङ २ (ख) मा पनि कांग्रेसका द्रोणकुमार कुँवरले १२ हजार ४०८ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी एमालेका लक्ष्मण पुनले आठ हजार ६७१ मत ल्याएका थिए।

मंसिर ७, २०७९ बुधबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।