विष्णु पौडेलले बढाउँदै लगे मतान्तर

बुटवल: रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका विष्णु पौडेलले मतान्तर बढाउँदै लगेका छन्। दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकोमा मङ्गलबार साँझदेखि भने पौडेल अघि लागेका थिए।
२५ हजार १४९ मत गणना हुँदा एमालेका पौडेलले आठ हजार ५९४ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले सात हजार ८५६ मत पाएर पौडेललाई पछ्याइरहेका छन्।
सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ६ हजार ६०२ मत पाएर तेस्रो स्थानमा छन्। एक लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नं २ मा ८१ हजार मत खसेको थियो।
यो क्षेत्रबाट पौडेलले यसअघिका तीन वटा निर्वाचन लगातार जितेका थिए। सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेजीपछि पौडेललाई सहज ठानिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १५ हजार मत गन्दासम्म निरन्तर अग्रता कायम राखेपछि यो क्षेत्र थप चर्चामा आएको थियो।
मंसिर ७, २०७९ बुधबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।