प्रतिस्पर्धीभन्दा पाँच हजार मत बढी ल्याउँदै सुर्खेत- २ मा कांग्रेस नेता हृदयराम थानी विजयी 

प्रतिस्पर्धीभन्दा पाँच हजार मत बढी ल्याउँदै सुर्खेत- २ मा कांग्रेस नेता हृदयराम थानी विजयी 

सुर्खेत: सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ मत आएको छ।

उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार विसीलाई पाँच हजार ६७ मतान्तरले पराजित गरेका हुन्।

एमाले नेता विसीले २९ हजार ५५८ मत प्राप्त गरे। थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जितेका छन्। ०७४ मा नेकपा एमालेसँगको हारको बदला यो पटक थानीले गठबन्धनको बलमा लिएका छन्।

०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए। वाम गठबन्धन हुँदा रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा २८ हजार ६४६ मत प्राप्त गरेका थिए थानीले।

थानी यसअघि ०५६ र ०७० सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिवी निवारणमन्त्री भइसकेका नेता हुन्।

थानीको जन्म २०१७ जेठ २६ गते भएको हो। पिता पद्मलाल थानी र माता देवी थानीको पुत्रको रूपमा बयलकाँडा सुर्खेतमा जन्मिएका हुन् उनी।

अहिले उनी वीरेन्द्रगनर नगरपालिका–१ मा बस्दै आएका छन्। इन्जिनियररिङ क्याम्पस, पुलचोकबाट आइई गरेका उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातक र त्रिवि कीर्तिपुरबाट एमए गरेका छन्।

विद्यार्थी राजनीतिमा सुरुदेखि नै लागेका थानी नेपाल विद्यार्थी संघ इकाई समिति, इन्जिनियरिङ क्याम्पस, पुलचोक ललितपुर, २०३५–२०३९ सम्म सभापति भएका थिए। स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३–२०४८ सम्म उपाध्यक्ष थिए।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सुर्खेतको २०४५-२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए। नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०५९/२०६० मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको सदस्य सचिव भएर पनि काम गरेको उनीसँग अनुभव छ।

नेपाली कांग्रेसको १३औँ महाधिवशेनबाट उनी प्रदेश नम्बर ६ बाट केन्द्रीय सदस्यमा निर्वाचित भए। थानीको राजनीतिक यात्रा संघर्षपूर्ण छ। उनले पटक पटक जेल जीवन बिताएका छन्।

२०४२ सालको सत्याग्रहको बेला भद्रगोल जेल गए भने २०४५ सालको नेपाल विद्यार्थी संघद्वारा गरिएको आन्दोलनका क्रममा सेन्ट्रल जेल, पुगे। फेरि २०४६ सालको जनआन्दोलनमा उनलाई भद्रगोल जेलमा राखिएकाे थियो।

मंसिर ७, २०७९ बुधबार ०७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।