रुपन्देहीका पाँचमध्ये दुई निर्वाचन क्षेत्रमा एमालेको अग्रता, छविलालभन्दा घनश्याम निकै पछाडि

रुपन्देहीका पाँचमध्ये दुई निर्वाचन क्षेत्रमा एमालेको अग्रता, छविलालभन्दा घनश्याम निकै पछाडि

बुटवल: प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको जारी मतगणनामा रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये दुईमा एमालेले अग्रता लिएको छ। अन्य निर्वाचन क्षेत्रहरूमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अग्रता लिएका छन्।

रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता लिएका छन्। उनले सात हजार ७२५ मत प्राप्त गरेका छन्। दोस्रोमा घनश्याम भुसाल रहेका छन्। उनले त्रिभुज चुनाव चिह्नमा एक हजार ४०४ मत प्राप्त गरेका छन्। यसैगरी घण्टीमा ५६७, ढकियामा एक हजार ५९७, महिलामा २१६ मत प्राप्त भएको छ।

क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पछि परेका छन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले निरन्तर अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले दुई हजार २४४ मत प्राप्त गर्दा एमाले उपाध्यक्ष पौडेलले एक हजार ९४४ मत प्राप्त गरेका छन्।

रुपन्देही–३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले अग्रतालाई कायमै राखेका छन्। खाँणले रुख चिह्नमा एक हजार ९४१ मत पाएर अग्रता लिएका छन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले एक हजार ४३६ मतसहित पछ्याइरहेका छन्।

रुपन्देही–४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अग्रता लिएको छ। उक्त दलका सर्वेन्द्रनाथ शुक्लाले साइकल चिन्हमा तीन हजार ९९४ मत प्राप्त गर्दा यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली कांग्रेसका प्रमोद यादव दोस्रोमा छन्। उनले दुई हजार ७६१ मत प्राप्त गरेका छन्।

रुपन्देही–५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन्। उनले यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली कांग्रेसका भरत शाहलाई उछिनेका छन्।

घिमिरले पाँच हजार ९१८ मत पाउँदा शाहको मत सङ्ख्या चार हजार ३७९ रहेको छ।

मंसिर ६, २०७९ मंगलबार ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।