विश्वकप: अर्जेन्टिनाले साउदीको सामना गर्दै, मेस्सीले भने- उपाधि जित्ने अन्तिम अवसर

विश्वकप: अर्जेन्टिनाले साउदीको सामना गर्दै, मेस्सीले भने- उपाधि जित्ने अन्तिम अवसर

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आज तीन खेल हुँदैछन्। आज पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियाको सामना गर्नेछ भने दोस्रोमा डेनमार्कले ट्युनिसियाको सामना गर्नेछ। यस्तै तेस्रो खेलमा मेक्सिकोले पोल्याण्डको सामना गर्नेछ।

अर्जेन्टिना र साउदीबीचको खेल आज दिउँसो नेपाली समयअनुसार ३:४५ बाट सुरु हुनेछ। यस्तै डेनमार्क र ट्युनिसियाबीच अपराह्न ६:४५ बाट खेल सुरु हुनेछ। मेक्सिको र पोल्याण्डबीचको खेल राति ९:४५ बाट सुरु हुनेछ।

यसबीच प्रि म्याच कन्फरेन्समा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो विश्वकप आफ्नो अन्तिम भएको स्वीकार गरेका छन्। उनले यो आफ्नो लागि उपाधि चुम्ने अन्तिम अवसर भएको बताएका हुन्।

वर्तमान समयकै महान् खेलाडी मानिने मेस्सीले गत वर्ष मात्र कोपा अमेरिकाको उपाधि जितेका थिए। सन् २०१४ को विश्वकपमा फाइनलमा जर्मनीसँग हार व्यहोरेको अर्जेन्टिनाका लागि यो विश्वकप अवसर हुनसक्ने धेरैले आकलन गरेका छन्। मेस्सीको पनि 'ट्रफी क्याबिनेट'मा विश्वकपको उपाधि मात्र जित्न बाँकी रहेको छ।

साउदीविरुद्ध हालसम्म चार पटक भिडेको अर्जेन्टिनाले चार वटै खेलमा जित हात पारेको छ।

मंसिर ६, २०७९ मंगलबार ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।