कैलाली- १, २, ३ मा नागरिक उन्मुक्तिको अग्रता, ४ मा एमालेको

काठमाडौं: कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जारी मतगणनामा अग्रता लिइरहेका छन्। पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार ५७८ मत पाएकी छिन्।
उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजार मतसहित पछ्याइरहेका छन्।
क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार ४८८ मतसहित अगाडि छन्। उनलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले ८६६ मतसहित पछ्याइरहेका छन्।
क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ। आज बिहानसम्मको जारी मतगणनामा गङ्गाराम चौधरीले १३ हजार ८५८ मत प्राप्त गरेका छन्। उनलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ११ हजार १६२ मतसहित पछ्याइरहेका छन्।
निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाएका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले झिनो मतले उछिनेका छन्। कांग्रेसका बलायरले तीन हजार ४७३ मत पाउँदा भट्टले तीन हजार ४९४ मत पाएका छन्।
निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)को मतगणना अहिले बिहान ८ बजेबाट गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सर्वदलीय बैठकमा सहमति बन्न नसकेपछि सुरु हुन नसकेको मतगणना ढिलो गरी सुरु हुन लागेको हो।
बैठकमा वडातह अनुसारको मतपेटिकाको मत गणना गर्नुपर्ने मागमा सहमति जुट्न सकेको थिएन। निर्वाचनको मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयअगाडि विभिन्न दलका कार्यकर्ताले सोमबार नाराबाजीसमेत गरेका थिए।
मंसिर ६, २०७९ मंगलबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।