विश्वकप: नेदरल्याण्ड्सले सेनेगललाई हरायो, अमेरिका र वेल्स बराबरीमा

काठमाडौं: कतारमा जारी फिफा विश्वकपमा गए राति सम्पन्न दुई खेलमध्ये एकमा नेदरल्याण्ड्स विजयी भएको छ। नेदरल्याण्ड्सले सेनेगललाई २-० गोलअन्तरले पराजित गरेको हो।
नेदरल्याण्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एक/एक गोल गरे। नेदरल्याण्ड्सले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो। खेलको ८४औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत् उत्कृष्ट गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्लासेनले गोल गर्दै नेदरल्याण्ड्सको गोल सङ्ख्या दुई बनाएका थिए।
जितसँगै नेदरल्याण्ड्सले ३ अंक जोडेको छ।
यस्तै राति १२:४५ बाट सुरु भएको अमेरिका र वेल्सबीचको खेल भने बराबरीमा टुङ्गियो। कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो।
खेलमा सुरुआती अग्रता लिए पनि अमेरिकाले त्यसलाई जोगाउन नसक्दा ३ अंक प्राप्त गर्न चुक्यो। खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए।
उनले पुलिसिकको पासमा गोल गरेका थिए। तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो।
यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन्।
मंसिर ६, २०७९ मंगलबार ०७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।