रुपन्देही- १ मा एमालेका विश्वकर्माको अग्रता, २ मा विष्णु पौडेल पछाडि परे

बुटवल: रुपन्देहीको निर्वाचन क्षेत्र नंं १ मा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका छविलाल विश्वकर्माको अग्रता कायमै रहेको छ। मङ्गलबार बिहान साढे पाँच बजेसम्म सात हजार ७२५ मत गणना गर्दा विश्वकर्माले एक हजार ७३८ मतका साथ अग्रता लिइरहेका छन्।
विश्वकर्मालाई नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले एक हजार ५९७ मतले पछ्याइरहेका छन्। त्यस्तै सत्ता गठबन्धनको समर्थन रहेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले एक हजार ४०४ मत प्राप्त गरेका छन्।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले ५६७ मत प्राप्त गरेका छन्।
कुल एक लाख ३९ हजार ५६० मतदाता रहेको रुपन्देही- १ मा ९५ हजार ९८७ मत खसेको निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिए। क्षेत्र नंं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा भइरहेको छ।
यस्तै रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) अग्रता कायम राखेको छ। उक्त क्षेत्रमा प्रतिनिधि सभा सदस्यतर्फ ६ हजार ६२ मत गणना हुँदा रास्वपाका गणेश पौडेलले दुई हजार २४४ मत ल्याएका छन्। उनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पछाडि पारेका छन्।
पौडेलले एक हजार ९४४ मतले पछ्याइरहेका छन्।
तेस्रोमा रहेका राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशवबहादुर थापा (सूर्यवंशी) ले एक हजार ४६१ मत प्राप्त गरेका छन्। उनलाई सत्ता गठबन्धनको समर्थन छ।
क्षेत्र नं. २ को मतगणना कार्य निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा भइरहेको छ।
कुल एक लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नं. २ मा ८१ हजार २०२ मत खसेको थियो।
मंसिर ६, २०७९ मंगलबार ०७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।