३१ करोड भ्रष्टाचारको मुद्दा खेपिरहेका टेकबहादुर सांसदमा निर्वाचित

काठमाडौँ : भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडा लगाउँदा ३१ करोड अनियमितता भएको मुद्दामा जोडिएका पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
उनी मनाङ मनाङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। उनले २५ सय ७५ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार पाल्देन छेपाङ गुरुङ २२ सय ४७ मत ल्याएर पराजित भए।
२०७० मा समेत सांसद रहेका उनी श्रम राज्यमन्त्री भएका थिए। उनी श्रममन्त्रीहुँदा भृकुटीमण्डपमा रहेको समाज कल्याणको जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनीसहित १४ जनामाथि ३१ करोड अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरे पनि त्यसको अन्तिम फैसला अझैँ आएको छैन।
उनी विरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहे पनि कांग्रेसले उनलाई सांसदको उम्मेदवार बनायो र उनी विजयी समेत भए।
मनाङको एक प्रदेशमा कांग्रेस, एमाले लगायतका सबै दलको समर्थनमा दीपक मनाङे सर्वसम्मत प्रदेश सांसद भइसकेका छन्।
मंसिर ५, २०७९ सोमबार २३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।