कांग्रेसका परम्परागत मतदातालाई गठबन्धनका दलभन्दा 'घण्टी' सहज देखियो

काठमाडौं : प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका ८ उम्मेदवारले अग्रता लिइरहेको निर्वाचन क्षेत्रमध्ये गठबन्धनबाट कांग्रेसको उम्मेदवार भएको २ क्षेत्र मात्रै हो। झापा ४ मा देउकुमार थेबे र काठमाडौँ ६ मा भीमसेनदास प्रधान गठबन्धन उम्मेदवार रूपमा रुख चिन्हमा उठेका थिए।
यी दुवै क्षेत्रमा पाँच दलीय गठबन्धन र एमाले गठबन्धनका उम्मेदवारबिच प्रतिस्पर्धा हुने आङ्कलन प्रारम्भिक मत परिणामले गलत देखाउँदै दुवै उम्मेदवार तेस्रो सूचीमा छन्। यी दुवै निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टीका शिशिर खनाल र शम्भुप्रसाद ढकाल अगाडि छन् भने उनीहरूलाई एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र एलपी साँवा लिम्बुले पछ्याइरहेका छन्।
अन्य ६ सिट जसमा स्वतन्त्र पार्टीका उम्मेदवारहरू अगाडि छन् त्यहाँ गठबन्धनबाट माओवादी, एकीकृत समाजवादीबाट उम्मेदवार उठेका थिए। ६ क्षेत्रका घण्टी चिन्ह लिएका उम्मेदवारले पाएको मत प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिन्छ।
यहाँ प्रतिस्पर्धामा एमालेका उम्मेदवार छन्। गठबन्धनका उम्मेदवार निकै तल देखिन्छन्। काठमाडौं ७ माओवादीले लिएर डा बाबुराम भट्टराइकी छोरी मानुषी यमीलाई उम्मेदवार बनाएका थिए।
त्यहाँ मानुषी तेस्रो स्थानमा छिन्। पहिलो नम्बरमा गणेश पराजुली छन्। पराजुलीलाई एमाले उम्मेदवार श्यामकुमार घिमिरेले पछ्याइरहेका छन्। पराजुलीभन्दा यमी करिब २ सय मतले पछि परेकी छिन्।
रुपन्देही २ मा भर्खर मत गन्न सुरु भएको छ। तर प्रारम्भिक रुझानमै घण्टी चिन्ह बाहक गणेश पौडेल गठबन्धनका केशवबहादुर थापा र एमाले नेता विष्णुप्रसाद पौडेलभन्दा अगाडि छन्। एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै पौडेललाई प्रतिष्पर्धीहिन मानिएको थियो। पछि पाँच दलीय गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका मगरलाई समर्थन गर्यो। पौडेल चर्चामै थिएनन्। तर उनी अहिले १ सय २६ मतले अगाडि हुँदा पौडेल ८३ र मगर ७८ मतले पछ्याइरहेका छन्।
अर्को क्षेत्र हो कास्की २। यहाँका घण्टी बाहक उम्मेदवार पनि त्यति चर्चामा थिएनन्। एमालेकी विद्या भट्टराई अनि गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराललाई नै प्रतिस्पर्धीको रूपमा हेरियो। तर प्रारम्भिक मत गणनामा घण्टीका माधवप्रसाद कँडेल ८ सय ७५ मतले अगाडि छन्। भट्टराई ६ सय ९० अनि बराल ४ सय ६१ मतले उनलाई पछ्याउँदा राप्रपाका उम्मेदवार सुवर्णराज पन्त पनि ४ सय ५१ ले पछिपछि छन्।
कास्की ३ को अवस्था पनि उस्तै छ। यहाँ गठबन्धनबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल उठे। एमालेकाट दामोदर पौडेल वैरागी। तर लिड गरिरहेका छन् घण्टी चिन्हका उम्मेदवार योगराज पौडेलले।
पौडेलले एक हजार २४ मत पाउँदा बैरागी ८ सय ३८ र बराल ४ सय ३८ मा छन्।
काठमाडौँ २ मा पनि गठबन्धन अनि एमालेको उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम अगाडि छिन्। उनी ४०७ मतले अगाडि हुँदा एमालेका मणिराम फुयाँल २ ५४ र गठबन्धनकी उम्मेदवार ओनसरी घर्ती २ सय २१ मत पाएका छन्। चौथोमा राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेल १ सय ८१ मतले पछ्याइरहेकी छिन्।
अर्को ललितपुर ३। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की २ हजार १ सय ८२ मतले अग्रतामा छिन्। उनलाई एमालेका उम्मेदवार अमृत खड्काले १ हजार ८ सय ८५ मतले पछ्याइरहेका छन्। गठबन्धनबाट उम्मेदवार बनेकी पम्फा भुसाल तोसिमा भन्दा दोब्बर मतले पछि परेकी छिन्। उनले १ हजार १ सय ९९ मत मात्र पाएकी छिन्।
काठमाडौं ८ मा घण्टी बाहक उम्मेदवार दोस्रोमा छन्। तर पहिलो नम्बरमा न गठबन्धन न एमालेका उम्मेदवार छन्। पहिलो नम्बरमा हाम्रो नेपाली पार्टीका सुमन सायमि १ हजार ८ सय ५२ मतले अगाडि छन्। उनलाई घण्टी बाहक बिराज भक्त श्रेष्ठले १६ सय १३ मतले पछ्याउँदा तेस्रो नम्बरमा एमालेका शिव सुन्दर वैद्य ८ सय ५७ मतले पछ्याइरहेका छन्।
गठबन्धनका उम्मेदवार तथा निवर्तमान सांसद जीवनराम श्रेष्ठ ६ सय ७० मतका साथ चौथो नम्बरमा छन्।
मंसिर ५, २०७९ सोमबार १९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।